पोखरा, ३१ चैत्र। मधेश प्रदेश सरकारले आउँदो वैशाख २ गते मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारले यसअघि नै नयाँ वर्षको अवसरमा वैशाख १ गते देशव्यापी बिदा घोषणा गरिसकेको छ। त्यसको भोलिपल्ट मंगलबार पनि मधेश प्रदेशमा सार्वजनिक बिदा घोषणा गरिएको हो।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सिरुवा वा जुडशीतल पर्वको अवसरमा बिदा दिइएको जानकारी गराएको छ। शाखा अधिकृत दीपेन्द्र कुमार यादवका अनुसार मधेश प्रदेशभित्र रहेका सबै सरकारी कार्यालय, सार्वजनिक संस्था र शिक्षण संस्थाहरूमा यो बिदा लागू हुनेछ।

जुडशीतल वा सिरुवा मधेश क्षेत्रमा विशेष महत्वका साथ मनाइने सांस्कृतिक पर्व हो, जसमा पितृहरूको सम्झनामा जल अर्पण गरिन्छ र नयाँ वर्षको सुरुआत शुद्ध मनले मनाउने परम्परा रहेको छ। यस पर्वको सांस्कृतिक तथा सामाजिक महत्वलाई सम्मान गर्दै प्रदेश सरकारले बिदा दिएको जनाएको छ।
यस निर्णयले मधेश प्रदेशका नागरिकलाई नयाँ वर्षको सुरुवात दुई दिनसम्म उत्सवपूर्ण ढंगले मनाउन सहज हुने विश्वास गरिएको छ।































