पोखरा, ३१ चैत्र। वीरगञ्जमा शनिबार हनुमान जयन्तीको शोभायात्राको क्रममा उत्पन्न तनावपश्चात आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले आपसी सद्भाव कायम गर्न पाँच बुँदे सहमति गरेको छ। धार्मिक समुदायबीच उत्पन्न झडपलाई नियन्त्रण गर्न र भविष्यमा यस्ता घटना नदोहोरिउन् भन्ने उद्देश्यसहित बैठक सम्पन्न भएको हो।
बैठकले घटनामा संलग्न दोषीलाई विस्तृत अनुसन्धान गरी कानुनी कारबाही गर्ने निर्णय गरेको छ। साथै, अन्तरधार्मिक सहिष्णुता र सद्भाव कायम राख्न सबै पक्षले पूर्ण प्रतिबद्धता जनाएका छन्। कानुनी प्रक्रिया सहज बनाउन सहयोग गर्ने विषयमा पनि सहमति भएको छ।
घटनामा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने र भएको क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले आवश्यक पहल गर्ने निर्णय गरिएको छ। कुनै पनि धार्मिक, सांस्कृतिक कार्यक्रममा हातहतियार प्रदर्शन गर्न नपाइने र गरिएमा कडा कारबाही गरिने सहमतिमा उल्लेख छ।
त्यस्तै, पर्सा जिल्लाभित्र सञ्चालित सबै धार्मिक संघसंस्था, विद्यालय, मदरसा लगायतका शैक्षिक संस्थाको सूक्ष्म अनुगमन गरिने र अनुचित गतिविधि देखिएमा कानुनी कारबाहीको दायरामा ल्याइने सहमति गरिएको छ।
शनिबार साँझदेखि वीरगञ्जमा जारी कर्फ्यु आदेश आइतबार रातिसम्म लम्ब्याइएको छ। दुई समुदायबीचको झडप उग्र बनेपछि जिल्ला प्रशासनले स्थिति नियन्त्रण गर्न कर्फ्यु लगाएको हो। अहिले सुरक्षाकर्मीहरू शहरका विभिन्न भागमा तैनाथ छन् र स्थिति सामान्य पार्न प्रयास जारी छ।




























