पोखरा, ३१ चैत्र। आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको गृहकार्य भइरहँदा चालू आर्थिक वर्षको बजेट खर्च र राजस्व संकलनको अवस्था भने चिन्ताजनक देखिएको छ। महालेखा नियन्त्रण कार्यालयका अनुसार चालू आर्थिक वर्षको नौ महिनासम्ममा सरकारको बजेट खर्च ९ खर्ब ९३ अर्ब ५१ करोड पुगेको छ भने आम्दानी ८ खर्ब ४५ अर्ब ७० करोडमा सीमित भएको छ, जसबाट डेढ खर्ब रुपैयाँ बजेट घाटा देखिएको छ।

समग्र बजेट खर्चमा चालूतर्फ ५९.१३ प्रतिशत, पुँजीगत खर्च २८.८ प्रतिशत र ऋणको साँवा ब्याज तर्फ ५९.०९ प्रतिशत मात्र खर्च भएको छ। बजेट खर्चमा पुँजीगततर्फको न्यूनतम प्रगति खासगरी विकास निर्माणमा सरकारको उदासीनता झल्काउँछ। यता, राजस्व संकलनतर्फ ८ खर्ब २१ अर्ब मात्र संकलन भइसकेको छ, जुन ५७.८९ प्रतिशत हो।

राजस्वको तुलनामा खर्च धेरै हुँदा बजेट घाटा बढ्नुका साथै सरकारले ऋण लिने अवस्था सिर्जना भएको छ। चालू आवमा सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राख्दा फागुन मसान्तसम्म ३ खर्ब ३४ अर्ब ऋण प्राप्त भइसकेको छ, जुन लक्ष्यको ६१.१७ प्रतिशत हो। आन्तरिक ऋण प्राप्तिमा ८१.५६ प्रतिशत प्रगति देखिएको छ भने बाह्य ऋणतर्फ ३०.१७ प्रतिशत मात्रै हो।

हाल सार्वजनिक ऋण कुल जीडीपीको ४६.९१ प्रतिशत पुगेको छ भने प्रतिव्यक्ति ऋण भार ९१ हजार रुपैयाँ पुगेको राष्ट्रिय तथ्यांकले देखाएको छ। विनिमय दरको उतारचढावले पनि ऋण भार बढाएको छ। डलरको मूल्य वृद्धिका कारण फागुनमा मात्रै ऋण भारमा २९ अर्ब ७० करोड रुपैयाँ थपिएको छ।

सरकारले अर्धवार्षिक समीक्षा गर्दै कुल बजेटको आकार घटाउँदै १६ खर्ब ९२ अर्बमा समेटेको छ। यसअनुसार चालूतर्फ १० खर्ब २९ अर्ब, पुँजीगततर्फ २ खर्ब ९९ अर्ब र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६३ अर्ब खर्च हुने अनुमान गरिएको छ। तर लक्ष्यअनुसारको राजस्व संकलन नहुँदा बजेट कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0