पोखरा, ३१ चैत्र। सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकार राजनीतिक स्थायित्व कायम गर्दै देशलाई आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउन क्रियाशील रहेको बताएका छन्। लमजुङको राइनास नगरपालिका–२ स्थित भलायखर्क स्वास्थ्यचौकी भवनको उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले जनताको अपेक्षा र विकासका चाहनालाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको स्पष्ट पारे।

उनका अनुसार विगतमा सरकार अस्थिर हुँदा विकास निर्माणका कार्य रोकिएका थिए भने ऐन, नियम र संरचनागत सुधारमा समेत ढिलाइ भएको थियो। ती सबै चुनौतीलाई सम्बोधन गर्दै अहिलेको सरकार नीतिगत र कार्यगत सुधारमार्फत देशलाई सुशासन र समृद्धिको बाटोमा डोर्याउन लागेको मन्त्री गुरुङको भनाइ थियो।

विगतका त्रुटि सच्याउँदै नयाँ कामको सुरुआत भएकाले केही ढिलाइ देखिएको उल्लेख गर्दै उनले भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गर्ने प्रतिबद्धता जनाए। शिक्षा प्रणालीको विषयमा पनि टिप्पणी गर्दै उनले वर्तमान प्रणाली अव्यावहारिक भएको र ग्रामीण क्षेत्रमा विद्यार्थी सङ्ख्या न्यून रहेकोले व्यावहारिक तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए।

स्वास्थ्य क्षेत्रमा सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री गुरुङले देशभित्रै जटिल रोगको उपचार तथा शल्यक्रिया सम्भव हुने बनाउँदै स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने काम भइरहेको जानकारी गराए।

उनले विगतमा सरकार अस्थिर हुँदा अर्थतन्त्र कमजोर भएको, औद्योगिक उत्पादन बन्द भएको र त्यसले राष्ट्रलाई गम्भीर संकटतर्फ धकेलेको स्मरण गराउँदै यस्ता अवस्थाबाट देशलाई जोगाउन कांग्रेस र एमाले मिलेर वर्तमान सरकार गठन गरिएको बताए। साथै, वर्तमान गठबन्धन २०८४ सालसम्म कायम रहने स्पष्ट संकेत दिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0