पोखरा, ३ वैशाख। सरकारले लामो समयदेखि शिक्षकहरूले उठाउँदै आएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गतेदेखि संघीय संसद्को बजेट अधिवेशन आह्वान गर्ने निर्णय गर्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। उक्त अधिवेशनमार्फत शिक्षकका मागहरूलाई सम्बोधन गर्न आवश्यक प्रक्रिया अघि बढाइने सरकारको भनाइ छ।
बैठकपछिको पत्रकार सम्मेलनमा शिक्षामन्त्री विद्या भट्टराईले संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने प्रयोजनका लागि संसद् अधिवेशन आह्वान गरिएको जानकारी दिइन्। विधेयक पारित गर्न सरकारको तर्फबाट आवश्यक समन्वय र सहजीकरण गरिने समेत उनले बताइन्।
उनले नेपाल शिक्षक महासंघले उठाएका मागहरूका विषयमा सरकारले संवादलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै संवादप्रति सरकार संवेदनशील र गम्भीर रहेको बताइन्। यथोचित मागहरूको सम्बोधन गर्न सरकार तयार रहेको स्पष्ट पार्दै उनले विद्यालय शिक्षा प्रणाली सुदृढ गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखिन्।
सरकारले शिक्षकहरूको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै हाल एसइईको उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षा र नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना चलिरहेको सन्दर्भमा विरोधका कार्यक्रमहरू स्थगन गरी कार्यक्षेत्रमा फर्कन शिक्षकहरूलाई आग्रह समेत गरेको छ।































