पोखरा, ४ वैशाख। जनस्वास्थ्यविद् डा. ओमप्रसाद गौतम विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सल्लाहकार समिति (एडभाइजरी कमिटी) को उपाध्यक्ष पदमा नियुक्त भएका छन्। यस पदमा पुग्ने उनी पहिलो नेपाली हुन्। डब्लुएचओले ७१ देशका ३४० आवेदनमध्येबाट योग्य र दक्ष १६ जना विज्ञलाई छनोट गरेको हो। उक्त समितिमा मनोविज्ञान, मानवशास्त्र, र व्यवहारिक अर्थशास्त्रका साथै सामाजिक तथा व्यवहारिक विज्ञानका ख्यातिप्राप्त विज्ञहरू सहभागी छन्।

डा. गौतम हाल बेलायतस्थित वाटरएड युकेमा हाइजिन लिडको रूपमा कार्यरत छन्, जहाँ उनी एसिया र अफ्रिकामा व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रमको नेतृत्व गर्दै आएका छन्। उनले लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनबाट पीएचडी गरेका छन् भने बंगलादेशबाट सार्वजनिक स्वास्थ्य र त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।

उनको करिब दुई दशकभन्दा बढीको अनुभव बालस्वास्थ्य, खोप, रोग नियन्त्रण, खाद्य स्वच्छता, र आपतकालीन स्वास्थ्य व्यवस्थापन क्षेत्रमा केन्द्रित रहेको छ। उनले २६ भन्दा बढी देशमा बहुराष्ट्रिय परियोजना र अनुसन्धानको नेतृत्व गरेका छन्। व्यवहार परिवर्तन रणनीति, प्रशिक्षण, मूल्याङ्कन र दिगो हस्तक्षेप निर्माणमा उनको योगदान उल्लेखनीय छ।

नियुक्तिपछि डा. गौतमले डब्लुएचओको महत्त्वपूर्ण मिसनमा सशक्त सल्लाह दिने प्रतिबद्धता जनाएका छन्। उनले व्यवहारिक विज्ञानको उपयोगमार्फत स्वास्थ्य प्रणाली सुधारमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0