पोखरा, ४ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जालमा पार्टी सदस्य र शुभेच्छुकहरूले मर्यादित र सभ्य रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले सामाजिक सञ्जालमा देखिएको अमर्यादित र अशिष्ट व्यवहारप्रति आपत्ति जनाउँदै पार्टी पंक्तिबाट यस्ता प्रवृत्ति निरुत्साहित गरिने स्पष्ट पारेका हुन्।
बैठकपश्चात कार्यवाहक प्रवक्ता मनिष झाले सबै सदस्यलाई आचारसंहिता उल्लंघन नगर्न र डिजिटल माध्यममा सभ्य भाषा र व्यवहार अपनाउन अपिल गरिएको जानकारी दिए। बैठकमा पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीले तयार गर्दै गरेको ‘ब्लु प्रिन्ट’को प्रारम्भिक खाका प्रस्तुत गरेका थिए। उक्त खाकामा सानो आकारको कम खर्चिलो सरकार, राजनीतिक नियुक्तिको उद्देश्यले बनाइएका आयोगहरूको कटौती तथा सार्वजनिक सेवा सुधारमा जोड दिइएको छ।
बैठकले पार्टीको ‘जन-यात्रा अभियान’ कार्यविधिलाई उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा सर्वसम्मतले पारित गरेको छ। त्यस्तै, यसअघि यही वैशाखमा हुने भनिएको राष्ट्रिय महाधिवेशनलाई आगामी फागुन ७, ८, र ९ गते चितवनमा गर्ने निर्णय गरिएको छ। बैठकले २०८२ सालको क्यालेन्डर समेत तयार गरेको जनाएको छ।
रास्वपाले हालसम्म ७० जिल्लामा समिति गठन गरिसकेको छ भने वडा, पालिका र प्रदेश स्तरमा पनि संगठन विस्तार तीव्र रूपमा भइरहेको जनाएको छ। सातै प्रदेशमा प्रदेश इन्चार्ज तोकिएको छ। बैठकले शिक्षाविद्को माग सम्बोधन गर्न संसद् अधिवेशनमार्फत सशक्त रूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन समेत दिएको छ।



























