पोखरा, ४ वैशाख। पोखरा महानगरपालिका–१७ विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ विधिपूर्वक अघि बढिरहेको छ। आगामी वैशाख १७ गतेदेखि औपचारिक रूपमा प्रारम्भ हुने कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा गत चैत २९ गतेदेखि श्रीमद्भागवत कथा प्रवचन कार्यक्रम सञ्चालनमा आएको हो।
बाल विदुषी अनुराधा पाण्डेय विगत ६ दिनदेखि संगितमय श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छिन्। उनको प्रेरणादायी प्रवचनले श्रद्धालुहरूमा धार्मिक उत्साह थपिदिएको छ। आयोजकका अनुसार भोलि उनीद्वारा प्रस्तुत कथा प्रवचनको समापन हुने छ, साथै उनलाई विशेष कार्यक्रमसहित विदाई गरिने तयारी गरिएको छ।
यसै क्रममा भोलि नै चर्चित भगवद्भक्त तथा कथा वाचिका देवी प्रतिभाको पोखरामा आगमन हुने तय भएको छ। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्ति जी महाराजले देवी प्रतिभा काठमाडौंबाट प्रस्थान गरेर भोलि बिहान पोखरा आइपुग्ने जानकारी दिएका छन्। दिउँसो २ बजे पोखरा–१७ स्थित बिरौटामा विशेष स्वागत कार्यक्रमको आयोजना गरिएको छ।
भोलि बिहान १० बजे अनुराधा पाण्डेयले आफ्नो अन्तिम प्रवचन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने दिउँसो देवी प्रतिभाको आगमनसँगै महायज्ञको धार्मिक वातावरणमा थप उत्साह थपिने अपेक्षा गरिएको छ। आयोजक समितिले सम्पूर्ण पोखरावासीहरूलाई देवी प्रतिभाको स्वागत कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेको छ।































