पोखरा, ४ वैशाख। पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालनमा रहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा नेपालका दुई चर्चित धार्मिक प्रवचनकर्ता आचार्य श्री शितल कृष्ण जी महाराज र सुप्रिया किशोरी जीको आगमन भएको छ। धार्मिक चेतना अभिवृद्धिमा विशेष योगदान दिँदै आएका यी दुई व्यक्तित्वको आगमनसँगै महायज्ञको गरिमा अझ बढेको छ।
श्री मानव सेवा फाउण्डेसन नेपालले दिएको जानकारी अनुसार आचार्य श्री शितल कृष्ण जी महाराजले बैशाख ४, ५ र ६ गतेसम्म विभिन्न आध्यात्मिक तथा सांस्कृतिक विषयमा प्रवचन दिने कार्यक्रम तय गरिएको छ। उहाँका प्रवचनहरूमा भक्तजनहरू ठूलो उत्साहका साथ सहभागी भइरहेका छन्। त्यस्तै सुप्रिया किशोरी जीले पनि भोलिदेखि कोटिहोम महायज्ञमा नियमित रूपमा प्रवचन दिनेछिन्।
महायज्ञको पूर्वसन्ध्यामा गत चैत २९ गतेदेखि वाल बिदुषी अनुराधा पाण्डेयले श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छिन्। उनको कथा प्रवचनको समापन कार्यक्रम भोलि सम्पन्न हुँदैछ। यसै दिन चर्चित कथा वाचिका देवी प्रतिभाको पनि पोखरामा आगमन हुने कार्यक्रम तय भइसकेको छ।
महायज्ञस्थलमा भक्तजनहरूको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ। देशविदेशबाट आएका सन्त, महन्त, जनप्रतिनिधि र समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति यस धार्मिक आयोजनालाई अझ भव्य बनाएको छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण मानिएको यस महायज्ञले पोखराको धार्मिक वातावरणमा सकारात्मक प्रभाव पारिरहेको छ।
































