पोखरा, ७ वैशाख। बलिउड अभिनेता अक्षय कुमारका लागि पछिल्लो फिल्म ‘केशरी २’ ले राहतको सास दिलाएको छ। भारतभर प्रदर्शनको पहिलो दुई दिनमै फिल्मले १७.२५ करोड भारु कमाउँदै आशाजनक सुरुआत गरेको छ। कोर्टरुम ड्रामामा आधारित ‘केशरी च्याप्टर २ : द अनटोल्ड स्टोरी अफ जालिनवाला बाग’ ले पहिलो दिन ७.७५ करोड भारु कमाएको थियो भने दोस्रो दिन शनिवार ९.५० करोड भारुको व्यापार गर्न सफल भयो।
फिल्ममा अक्षय कुमारसँगै आर माधवन र अनन्या पाण्डेको समेत मुख्य भूमिका रहेको छ। पछिल्ला केही फिल्महरु लगातार असफल भएपछि यो फिल्मले अक्षयको करियरलाई केही हदसम्म संजीवनी दिएको विश्लेषण गरिएको छ। यद्यपि, सन् २०१९ मा रिलिज भएको पहिलो संस्करणको तुलनामा यसपटकको कमाइ केही कमजोर देखिएको छ।
फिल्म विश्लेषक संस्था स्याकनिल्कले पहिलो सप्ताहन्तसम्म फिल्मले करिब ३० करोड भारुको व्यापार गर्ने अनुमान गरेको छ। बलिउडमा हाल सुस्त व्यापार भइरहेका बेला ‘केशरी २’ को शुरुवाती प्रदर्शनलाई सकारात्मक संकेतको रूपमा लिइएको छ।
यस फिल्मले भारतीय राष्ट्रवादको कथा प्रस्तुत गरेकाले पनि भारतमा दर्शकहरूको सकारात्मक प्रतिक्रिया पाइरहेको छ। तथापि, नेपालमा भने फिल्मको व्यापार पहिलो सप्ताहन्तमा खासै उत्साहजनक देखिएको छैन। फिल्मलाई भारतीय बक्स अफिसमा सनी देओलको ‘जाट’ ले कडा प्रतिस्पर्धा दिइरहेको छ। ‘जाट’ ले दोस्रो सप्ताहन्तमा केही गिरावट आए पनि १० दिनमा करिब ७० करोड भारुको व्यापार गरेको छ।
‘केशरी २’ को वर्ड अफ माउथ सकारात्मक रहेकोले लामो समयसम्म चल्ने अपेक्षा गरिएको छ, जसले अक्षयको करियरमा नयाँ गति ल्याउन सक्छ।































