पोखरा, १० वैशाख। राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले विदेशमा बस्ने नेपालीहरुको नागरिकता निरन्तरतामा आफ्नो पार्टीको स्पष्ट प्रतिबद्धता रहेको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा अध्यक्ष लिङ्देनले वर्तमान नागरिकता ऐनले प्रवासी नेपालीका अधिकारलाई विस्थापित गरेको उल्लेख गर्दै ऐनको संशोधन आवश्यक रहेको बताए।
लिङ्देनले “एक पटकको नेपाली, सधैंका लागि नेपाली” भन्ने अवधारणामा दृढ समर्थन व्यक्त गर्दै प्रवासी नेपालीलाई मूलथलोबाट टाढा बनाउनु नहुने धारणा राखे। उनले विदेशमा रहेका नेपालीलाई देश विकासका शक्ति र स्रोतका रुपमा चिनाउँदै सबै पक्ष मिलेर राष्ट्रिय निर्माणमा सहभागी हुन आह्वान गरे।
यस्तै भेटमा राप्रपा उपाध्यक्ष डा. हेमराज शर्माले एनआरएनएमा हाल देखिएको विवाद समाधानका लागि सबै राजनीतिक दलले विधानविपरीत गतिविधि गरिरहेको समूहलाई रोक्न सुझाव दिनुपर्नेमा जोड दिए। एनआरएनए प्रतिनिधिमण्डलले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र संघीय संसदकी उपसभामुख इन्दिरा रानासँग पनि भेट गरी गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा सक्रिय पहल गरिदिन आग्रह गरेका छन्।
उपसभामुख रानाले सम्भव भएसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।































