पोखरा, ११ वैशाख। देशका विभिन्न तराई क्षेत्रहरूमा लगातार गर्मी बढ्दै गएपछि सरकारले आज र भोलि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी प्रदेशका तराई भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेन्टिग्रेड नाघिसकेको छ भने मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा पनि ३८ डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ।
विभागले आज र भोलि तातो हावाको लहर चल्ने पूर्वानुमान गरेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई सुझाव दिएको छ। मौसमविद् रोजन लामिछानेका अनुसार आज भैरहवासहित केही स्थानमा तापक्रम ४१ डिग्रीसम्म पुग्ने सम्भावना रहेको छ। हिजो भैरहवामा ४०.८ डिग्री तापक्रम मापन गरिएको थियो भने धनगढीमा ३९.९ डिग्री पुगिसकेको छ।
लामिछानेले कम्तीमा तीन दिनसम्म मौसम प्रणालीमा परिवर्तन नआउने भएकाले तापक्रम झनै बढ्न सक्ने बताएका छन्। यस्तो अवस्थामा अत्यधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।































