पोखरा, १३ वैशाख। अभिनेता अक्षय कुमारको महत्वाकांक्षी चलचित्र ‘केसरी २’ ले पहिलो साता भारतमा जम्मा ४३ करोड मात्र कमाई गरेको छ। बक्स अफिसमा पहिलो साता ८० करोड कमाउने अनुमान गरिएको भए पनि चलचित्रले ५० करोडको सीमाना पार गर्न सकेन। निर्माण पक्षले भने अन्य चलचित्रको तुलनामा यो कमाईलाई सकारात्मक रूपमा लिएको छ।
चलचित्रले आइतबार रिलिजको तेस्रो दिन १२ करोडको व्यापार गरेर आशा जगाएको थियो। पहिलो दिन ७.७५ करोड कमाउने चलचित्रले सातौँ दिनमा भने व्यापार घट्दै १.२९ करोडमा सीमित रह्यो। यसरी, पहिलो हप्ता अपेक्षाभन्दा कमजोर व्यापार गरे पनि वितरकहरू यो चलचित्रले तेस्रो साता सम्ममा ७२ देखि ७५ करोड कमाउने विश्वासमा छन्।
केसरी २ ले १९१९ सालको जलियाँवाला बाग हत्याकाण्डको घटनालाई मुख्य कथावस्तु बनाएको छ। अंग्रेज शासक जनरल रेजिनाल्ड डायरले आफ्ना सेनामार्फत निहत्था नागरिकहरूलाई निशाना बनाएको यस ऐतिहासिक नरसंहारलाई चलचित्रमा गहिरो रूपमा प्रस्तुत गरिएको छ।
अघिल्लो चलचित्र ‘केसरी’ को सफलता पछि बनेको ‘केसरी २’ मा काम गर्नुको कारण यही ऐतिहासिक घटना भएको अभिनेता अक्षय कुमारले बताएका छन्। यद्यपि बक्स अफिसमा कम कमाई भए पनि समीक्षकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफू सन्तुष्ट भएको उनी बताउँछन्।




























