पोखरा, १३ वैशाख। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हालको सत्ता गठबन्धनमा कुनै फेरबदल नहुने प्रस्ट पारेका छन्। बैंककबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सत्ता समीकरण फेरबदल हुने चर्चा हल्लामात्र भएको बताए। देउवाले स्पष्ट रूपमा भने, “सत्ता समीकरण फेरबदल हुने सम्भावना नै छैन, यी हल्ला मात्रै हुन्।”
उनका साथ बैंकक भ्रमणमा रहेकी परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले पनि सरकार परिवर्तनको हल्ला निराधार भएको बताइन्। उनले देउवाको भ्रमण शुद्ध रूपमा स्वास्थ्य जाँच र व्यक्तिगत प्रयोजनका लागि भएको उल्लेख गर्दै यसमा कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम नरहेको बताइन्।
पत्रकारहरूको जिज्ञासामा मन्त्री राणाले विदेशमा बसेर सरकार परिवर्तन नहुने बताउँदै यस्ता हल्ला केही समय मौनतापछि आउने मनोरञ्जनको विषय जस्तै भएको टिप्पणी गरिन्।
उनले बैंककमै रहँदा काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको जानकारी समेत दिइन्।































