पोखरा, १३ वैशाख। गोरखा भूकम्प गएको १० वर्ष पुगेको अवसरमा पोखरामा एक दिने भूकम्प सिकाई प्रदर्शनी सम्पन्न भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को आयोजनामा शुक्रबार पोखराको पृथ्वीनारायण क्याम्पसमा उक्त प्रदर्शनी गरिएको हो। कार्यक्रममा पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूको सक्रिय सहभागिता देखिएको थियो।

प्रदर्शनीमा भूकम्प जानुअघि, जाँदै गर्दा र गईसकेपछि अपनाउनुपर्ने सावधानी, भूकम्पको तयारीका उपाय र भवनको उचाइअनुसार हुने सम्भावित असरबारे विद्यार्थीलाई व्यावहारिक रूपमा जानकारी गराइएको थियो। नाष्टका भूकम्पविद् डा. शिव सुवेदीले वैज्ञानिक अध्ययनले पश्चिम नेपालको भूभाग मुनि ठूलो परिमाणमा ऊर्जा संचित भइसकेको पुष्टि गरिसकेको भन्दै भविष्यमा ठूलो म्याग्नेच्युडको भूकम्पको सम्भावना रहेको चेतावनी दिए। उनले सबैले मिलेर भूकम्पीय जोखिम न्यूनीकरणको तयारीमा जुट्नुपर्ने आवश्यकता औंल्याए।

प्रदर्शनीमा प्लेट टेक्टोनिक्स, गोरखा भूकम्पको सन्दर्भ, भूकम्पको विज्ञान, मोडलहरू, म्याग्नेच्युड र तीव्रता, र भविष्यवाणी गर्न नसकिने कारणहरूसम्बन्धी जानकारी समेटिएको थियो। विद्यार्थीहरूका लागि भूकम्पसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता र चित्रकला कार्यक्रम पनि आयोजना गरिएको थियो, जसले उनीहरूको सहभागिता र सिकाइलाई अझ प्रभावकारी बनायो।

नेपालसहित स्विजरल्याण्ड, सिंगापुर र बेलायतमा भूकम्पसम्बन्धी अनुसन्धानमा संलग्न विज्ञहरू पनि कार्यक्रममा सहभागी थिए। उनीहरूले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अनुभव र वैज्ञानिक दृष्टिकोणबाट भूकम्पसम्बन्धी विषयहरू बुझाउने प्रयास गरेका थिए।

यस प्रदर्शनीले भूकम्पप्रति सचेतना र तयारीमा युवाहरूको चासो बढाउने अपेक्षा गरिएको छ। वैज्ञानिक चेतनाको अभिवृद्धि र जोखिम न्यूनिकरणमा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0