पोखरा, १३ वैशाख। पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालनमा रहेको श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञले नेपालको धार्मिक क्षेत्रमा इतिहास रच्ने निश्चित रहेको गण्डकी प्रदेशसभा सदस्य माननीय विन्दु पौडेलले बताएकी छन्। सोमबार महायज्ञ स्थलमा प्रमुख अतिथिको रुपमा सहभागी भएकी पौडेलले यस्तो विशाल र व्यवस्थित धार्मिक आयोजनाले देशको धार्मिक परिचयमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गरिन्।
उनले पोखरामा यस्तो महायज्ञ सञ्चालन हुनु आफैंमा गर्वको विषय रहेको उल्लेख गरिन्। “नेपालमा कोटिहोमको परिकल्पना कसैले गर्न सकेको थिएन, तर आज त्यो पोखरामा सफलतापूर्वक सञ्चालन भइरहेको छ, जुन गौरवको कुरा हो,” भन्दै उनले गण्डकी कोटिहोम महायज्ञले धार्मिक इतिहासमा विशेष स्थान बनाउने स्पष्ट पारिन्।
उनको भनाइमा, यस्तो खालको धार्मिक आयोजनाले न केवल समाजमा अध्यात्मिक चेतना फैलाउँछ, तर पोखराको गरिमा र सांस्कृतिक महत्त्व पनि अझ बलियो बनाउँछ। कार्यक्रममा सहभागीहरूले समेत महायज्ञको व्यवस्थापन, सहभागिता र वातावरणप्रति सन्तुष्टि व्यक्त गरेका थिए।
महायज्ञका क्रममा भइरहेको विविध कार्यक्रम र श्रद्धालुहरूको उल्लेखनीय सहभागिताले यो आयोजनालाई ऐतिहासिक बनाउन थप मद्दत गरेको छ। यस महायज्ञले धार्मिक पर्यटन, संस्कार र सामाजिक एकताको सन्देश फैलाउने अपेक्षा गरिएको छ।
































