पोखरा, १३ वैशाख। पोखरा महानगरपालिका वडा नं. ७ का अध्यक्ष राम मोहन आचार्यले श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको दर्शन नगर्ने व्यक्ति साँचो अर्थमा पोखरेली हुन नसक्ने बताएका छन्। मंगलबार पोखरा-१७ बिरौटामा सञ्चालन भइरहेको महायज्ञमा प्रमुख अतिथिको रूपमा सहभागी भएका अध्यक्ष आचार्यले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले भने, “हाम्रो आँगनमै यति भव्य धार्मिक आयोजनाको आयोजना हुनु गज्जबको कुरा हो। यो महायज्ञले हामी सबैलाई धार्मिक र संस्कारयुक्त बनाउनेछ।” विकृति र विसंगतिको बढ्दो प्रभावलाई हटाउने सामर्थ्य कोटिहोम महायज्ञमा रहेको उनले बताए। साथै, यस्तो महायज्ञले समाजमा धार्मिक चेतना र एकता फैलाउने उल्लेख गर्दै उनले पोखरेली हुनुको सार बुझ्न महायज्ञको दर्शन गर्न आग्रह गरे।

वर्ष २०२५ लाई पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पर्यटन वर्ष’ सफल बनाउन महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष आचार्यको भनाइ थियो। उनका अनुसार, धार्मिक पर्यटन प्रवर्द्धन गर्न यस्तो आयोजनाले सशक्त आधार निर्माण गर्नेछ।

महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन जारी छ, जसमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा लगायत सुप्रिया किशोरी लगायतका प्रवचनकर्ताले भक्तजनलाई आध्यात्मिक सन्देश दिइरहेका छन्। पछिल्लो दिनमा महायज्ञ स्थलमा भक्तजन र दानवीरहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0