पोखरा, १३ वैशाख। पोखरामा आज (शनिबार) प्रतिरक्षा तथा बाल बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम सञ्चालन हुने भएको छ। पोखरा महानगरपालिका वडा नं. ९ को समन्वयमा तथा म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक प्रा.लिको आयोजनामा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

शिविर पोखरा नयाँबजारमा सञ्चालनमा आउन लागेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राङ्गणमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। नेपालकै एकमात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ डा. धर्मागत भट्टराईको प्रत्यक्ष सल्लाहमा यो शिविर गण्डकी प्रदेशमै पहिलो पटक पोखरामा आयोजना गर्न लागिएको हो।

कार्यक्रमको उद्देश्य बालबालिकामा देखिने प्रतिरक्षा र बाथरोगसम्बन्धी समस्याको समयमै पहिचान, निदान र उपचारप्रति जनचेतना फैलाउनु रहेको पोखरा क्लिकका अध्यक्ष दीननाथ बरालले बताए। उनले गण्डकी प्रदेशमा यस्तो प्रकारको सेवा निकै दुर्लभ भएकाले समुदायलाई सुसूचित गर्ने अभिप्रायले शिविरको आयोजना गरिएको जानकारी दिए।

शिविरमा सहभागी सेवाग्राहीलाई मधुमेह र पिशाब परीक्षण सेवा निःशुल्क प्रदान गरिनेछ। साथै, स्वास्थ्य परीक्षण गराउने सेवाग्राहीलाई अस्पतालका अन्य सेवा शुल्कमा ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था पनि गरिएको पश्चिमाञ्चल डायग्नोष्टिक एण्ड रिसर्च सेन्टरका प्रशासकीय अधिकृत देवेन्द्र धितालले बताए।

डा. भट्टराईले बालबालिकामा प्रतिरक्षा तथा बाथरोगका समस्या दीर्घकालीन रूपमा गम्भीर हुने भएकाले समयमै परीक्षण र उपचारको आवश्यकता औंल्याए। उनले हाल आफ्ना निगरानीमा नेपालभर २,३०० बालबालिका रहेको पनि उल्लेख गरे।

अस्पतालका अध्यक्ष शिव पोखरेलले विशिष्ट सेवा प्रदान गर्न अस्पताल स्थापना गरिएको उल्लेख गर्दै यस प्रकारको शिविरले गण्डकी प्रदेशका बालबालिकालाई लाभ पुर्‍याउने विश्वास व्यक्त गरे। १६ वर्षमुनिका बालबालिकाको बढीभन्दा बढी सहभागिताका लागि उनले आम अभिभावकलाई अनुरोध गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0