पोखरा, १३ वैशाख। जम्मू–कश्मीरको पहलगाममा हालै भएको आतङ्कवादी आक्रमणप्रति गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ आयोजक समितिले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। समितिले उक्त घटनालाई सम्पूर्ण मानवता, धर्म, र शान्तिपूर्ण सहअस्तित्वमाथिको गम्भीर आक्रमणको संज्ञा दिँदै यस्ता कार्यलाई कुनै पनि हालतमा स्वीकार्य नहुने जनाएको छ।
गत मङ्गलबार भारतको बैसारन घाटीमा भएको हमलामा २७ जनाभन्दा बढीको ज्यान गएको थियो, जसमा नेपालका युवा सुदीप न्यौपानेसहित अन्य पर्यटकहरू पनि परेका थिए। मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै समितिले शोक प्रकट गर्दै बिहिबार साँझ दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
दीप प्रज्ज्वलन कार्यक्रममार्फत आतङ्कको विरोधमा एकजुटता प्रदर्शन गर्नुका साथै शान्ति, सहिष्णुता र धार्मिक सद्भावको सन्देश फैलाउने आयोजक समितिको उद्देश्य रहेको थियो। संयोजकले यस घटनालाई सम्पूर्ण धार्मिक मूल्य र मानव सभ्यतामाथिको चोटको रूपमा व्याख्या गर्दै सबैलाई यस्ता अमानवीय क्रियाकलापको सामूहिक विरोध गर्न आह्वान गरेका छन्।
कार्यक्रममा सबै धर्मावलम्बी, सामाजिक संस्था, युवापुस्तासहित सम्पूर्ण पोखरेली जनसमुदायको उपस्थिति रहेको थियो । आयोजकका अनुसार यस्तो समवेदना कार्यक्रमले समाजमा एकता, सहिष्णुता, र शान्तिको मार्गमा अग्रसर गराउने बताए।































