पोखरा, १३ वैशाख। मानवसेवा फाउण्डेशनको आयोजनामा हिजो बिहान पोखरामा बृहत् ट्याक्सी र्याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजित यो र्यालीमा सयौं ट्याक्सीहरू सहभागी भएका थिए।
र्याली बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भई पोखराका प्रमुख स्थानहरू ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन लगायतका स्थानहरू हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो। र्यालीमा ट्याक्सी चालकहरूले महायज्ञको सन्देश बोकेका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरेका थिए।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले र्यालीलाई पोखरेली जनतामा धार्मिक र सामाजिक सद्भावको भावना जागृत गर्ने महत्त्वपूर्ण अवसरको रूपमा चित्रित गरे। उनले यस र्यालीले पोखरा शहरमा महायज्ञको सन्देश फैलाउन र स्थानीय समुदायमा एकता र जागरणको वातावरण सिर्जना गर्न मद्दत पुर्याएको बताए।
मानवसेवा फाउण्डेशनले आगामी कार्यक्रमहरूमा थप उत्साह जनाउने उद्देश्यले मोटरसाइकल र्याली, डुङ्गा र्याली र बृहत् कशलयात्रा आयोजना गर्ने जनाएको छ।































