पोखरा, १४ वैशाख। मानव सेवा फाउन्डेशन नेपालद्वारा आयोजित श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ आगामी वैशाख १७ गतेदेखि जेठ १६ गतेसम्म पोखरा–१७ बिरौटास्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा भव्य रूपमा सञ्चालन हुने भएको छ। धार्मिक पर्यटन प्रवर्द्धन र पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना गरिएको यस महायज्ञमा अर्बौं रामनाम लेखनको विशेष कार्यक्रम पनि समावेश गरिएको छ।
गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले महायज्ञको दर्शन गर्नु पूर्वजन्मको पुण्यको फल भएको बताउँदै यसले मानवताको सेवा, सामाजिक एकता र आध्यात्मिक जागरणमा ठूलो भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। उहाँले कोटिहोम महायज्ञलाई जीवनमा सकारात्मक परिवर्तन ल्याउने अनुपम अवसरको रूपमा व्याख्या गर्नुभयो।
४१ दिनसम्म निरन्तर हवन सञ्चालन हुने यो महायज्ञमा भक्तजनलाई घ्यू, तील, तेल, देवदार र श्रीखण्ड लगायत सामग्री लिएर सहभागी हुन आह्वान गरिएको छ। भूमिपूजन तथा यज्ञकुण्ड निर्माण सम्पन्न भइसकेको र कथा प्रवचन समेत शुरू भइसकेको आयोजकले जनाएको छ। यज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती तथा विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्।
महायज्ञमा सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिनेछ। आयोजकले देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता रहने अपेक्षा गरेको छ।































