पोखरा, १४ वैशाख। पोखरामा मानवसेवा फाउण्डेशनको आयोजनामा हिजो बिहान भव्य मोटरसाइकल र्‍याली सम्पन्न भएको छ। आगामी वैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यो र्‍यालीमा सयौं मोटरसाइकल चालकहरूले सहभागिता जनाएका थिए।

र्‍याली बिहान ७ बजे बिरौटास्थित कोटिहोम स्थलबाट सुरु भई ड्यामसाइड, लेकसाइड, जिरोकिलोमिटर, बगर, महेन्द्रपुल, रामबजार, पृथ्वीचोक, नागढुङ्गा हुँदै पुनः कोटिहोम स्थलमै पुगेर समापन भएको थियो। मोटरसाइकल चालकहरूले महायज्ञको सन्देश बोकेका ब्यानर, झण्डा र प्लेकार्डहरू प्रदर्शन गरेका थिए भने धार्मिक भजन र सन्देशमूलक नाराले वातावरण उत्साहपूर्ण बनाएको थियो। स्थानीय बासिन्दाले र्‍यालीलाई स्वागत गर्दै सहर्ष समर्थन जनाएका थिए।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले मोटरसाइकल र्‍यालीले पोखरावासीहरूमा धार्मिक जागरण ल्याएको र महायज्ञप्रति उत्साह थप बढाएको बताउनुभयो। उहाँले पोखरेली जनताको सक्रिय सहभागिताले आयोजकलाई थप प्रेरणा दिएको उल्लेख गर्नुभयो।

र्‍यालीमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष तथा होन्डा मोटरसाइकलका बिक्रेता चन्द्र कुँवरको विशेष उपस्थिति रहेको थियो। उहाँले यस्ता कार्यक्रमहरूले सामाजिक एकता र धार्मिक चेतनालाई अझ सशक्त बनाउने भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो।

मानवसेवा फाउण्डेशनले महायज्ञको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन अन्य विविध कार्यक्रमहरू पनि गर्दै आएको छ। यसै क्रममा बैशाख १४ गते फेवातालमा डुङ्गा र्‍याली र बैशाख १६ गते बृहत् कशलयात्रा आयोजना हुने जानकारी दिएको छ। यसअघि साइकल र्‍याली र ट्याक्सी र्‍याली सफलतापूर्वक सम्पन्न भइसकेका छन्।

र्‍यालीको सफलताले महायज्ञप्रति पोखरावासीहरूमा व्यापक उत्साह सिर्जना गरेको देखिएको छ। फाउण्डेशनले आगामी कार्यक्रमहरूमा समेत सक्रिय सहभागिता जनाउन सबैमा आग्रह गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0