पोखरा, १४ वैशाख। गण्डकी कोटिहोममा दैनिक कथा वाचन गर्दै आउनु भएकी अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले आमा औसीको विशेष अवसरमा पोखरा-१७, महतगौडामा स्थित बुद्धाश्रमको अवलोकन गर्नुभयो। उक्त अवसरमा उहाँले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई खाद्यान्न र आवश्यक सामग्री वितरण गर्नुका साथै उनीहरूको स्वास्थ्य र कल्याणबारे जानकारी लिनुभयो।
देवी प्रतिभा लामो समयदेखि कथा वाचनका माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आउनुभएको छ। बुद्धाश्रमको अवलोकनको क्रममा उहाँले ज्येष्ठ नागरिकहरूको सम्मान र हेरचाहको महत्त्वमा जोड दिँदै यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आश्रमका सञ्चालकले देवी प्रतिभाको सहयोग र सक्रियताको उच्च प्रशंसा गर्दै यस्ता गतिविधिले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई मानसिक र भावनात्मक हौसला प्रदान गर्ने बताएका छन्। स्थानीय समुदायले पनि यो कार्यको खुलेर स्वागत गरेको छ।
गण्डकी कोटिहोममा दैनिक कथा वाचनको माध्यमबाट सामाजिक जागरण र सांस्कृतिक संरक्षणमा योगदान पुर्याउँदै आउनु भएकी देवी प्रतिभाको यो पछिल्लो कदमले समाजमा थप सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
































