पोखरा, १५ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच भएको दाबी प्रमाणित गर्न खुला चुनौती दिएका छन्। आइतबार राजधानीमा आयोजित मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो गम्भीर आरोप लाजसरम पचाएर लगाइएको भन्दै त्यसको प्रमाण माग गरेका हुन्। केही दिनअघि महामन्त्री थापाले सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच हुने गरेको अभिव्यक्ति दिएका थिए, जसलाई लिएर ओलीले तीव्र प्रतिक्रिया जनाएका हुन्।

प्रधानमन्त्री ओलीले यस्ता आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै, सरकार र नेतृत्वविरुद्ध झुटा प्रचारबाजी चलाइएको टिप्पणी गरे। उनले देशमा एमाले–कांग्रेसको सहभागितामा बनेको सरकार स्थिरता, विकास र सुशासनको दिशामा अघि बढिरहेको बेला विरोधका लागि झुठा आरोप लगाउने प्रवृत्ति बढेको बताए। ओलीले भने, “झुटा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौं, सरकारले केही गरेको छैन। हामीले देश बर्बाद बनाइरहेका छौं, हामीले कुनै अपराध गरिरहेका छौं।” उनले यस्ता आरोपलाई हतियार बनाएर विभिन्न प्रतिगामी शक्तिहरू सक्रिय भएको आरोप लगाए।

सरकार परिवर्तनको हल्लाबारे पनि प्रधानमन्त्री ओलीले कटाक्ष गर्दै, कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्किएपछि सरकार ढल्छ भन्ने अफवाह फैलाउनेहरू अहिले निराश भएको बताए। उनले पार्टीभित्र एकता र विश्लेषणात्मक चेत आवश्यक रहेको उल्लेख गर्दै, विरोधीको आरोपको खण्डन गर्न सबैलाई आग्रह गरे। ओलीले पार्टीभित्र आलोचनात्मक चेत मात्रै बोकेर बाहिरको आरोपसँग लड्न नसक्ने प्रवृत्ति सही बाटो नभएको बताए।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यशैलीमाथि उठेका आरोपहरूलाई अस्वीकार गर्दै, सरकार स्थिरता र सुशासनका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले आगामी निर्वाचनमा एमाले निर्णायक शक्ति बन्ने दाबी गर्दै, सत्य, इमान र सही विचारबाट स्थापित हुने विश्वास व्यक्त गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0