पोखरा, १५ वैशाख। मानवसेवा फाउण्डेशनको आयोजनामा पोखराको बिरौटास्थित कोटिहोम महायज्ञ परिसरबाट सुरु गरिएको रात्रीकालीन बृहत् पैदल यात्रा भव्य रूपमा सम्पन्न भएको छ। साँझ ६ बजे प्रारम्भ भएको यात्रा श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार, धार्मिक जागरण र सामाजिक सद्भाव प्रवाह गर्ने उद्देश्यले आयोजित गरिएको थियो।
कोटिहोम परिसरबाट सुरु भएको यात्राले बराल फिड, पात्ले छागो, गुप्तेश्वर गुफाजस्ता पोखराका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू हुँदै अगाडि बढ्दै धार्मिक भजन, कीर्तन र नाराहरूको गुञ्जनले सम्पूर्ण वातावरणलाई उल्लासमय बनाएको थियो। सयौं श्रद्धालुहरूले ब्यानर, प्लेकार्ड र झण्डा बोकेर महायज्ञको सन्देश फैलाएका थिए, जसले महायज्ञप्रतिको जनचासो र श्रद्धालाई झनै बलियो बनाएको देखिन्थ्यो।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले यात्राले पोखराको धार्मिक र सामाजिक एकतालाई थप सुदृढ बनाएको बताए। उनले गुप्तेश्वर गुफा, बराल फिड र पात्ले छागो जस्ता महत्वपूर्ण स्थानहरू समेटिँदा यात्राले थप आध्यात्मिक र सांस्कृतिक गहिराइ पाएको उल्लेख गरे।
मानवसेवा फाउण्डेशनले सहभागीहरूको उत्साह र समर्पणले महायज्ञको महत्व अझ वृद्धि भएको जनाउँदै पोखरेली जनता र बाह्य आगन्तुकहरूलाई महायज्ञमा सक्रिय सहभागिताको आग्रह गरेको छ। यसअघि साइकल, ट्याक्सी र मोटरसाइकल र्याली सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने बैशाख १६ मा बृहत् कशलयात्रा आयोजना गरिनेछ। रात्रीकालीन पैदल यात्राले पोखराको धार्मिक, सांस्कृतिक र सामाजिक चेतनामा नयाँ ऊर्जा थपेको आयोजकहरूको विश्वास रहेको छ।
































