पोखरा, १५ वैशाख। हाजिरी जमानीमा प्रहरी हिरासतबाट छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा राजावादी आन्दोलनमा पुनः सक्रिय भएका छन्। गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको प्रदर्शनपछि पक्राउ परेका राणा वैशाख ७ गते हाजिरी जमानीमा रिहा भएका थिए। स्वास्थ्य उपचारका लागि भारत जानुपर्ने भन्दै रिहा गरिएका राणा सोमबार काठमाडौंको भृकुटीमण्डपमा राप्रपा नेपालले आयोजना गरेको विरोधसभामा सहभागी भएका हुन्।

राणा केवल सहभागी मात्र नभई आन्दोलनलाई थप उर्जा दिनेगरी प्रस्तुत भएका छन्। उनीसँगै राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे पनि विरोधसभामा सहभागी थिए। प्रहरीले जानकारी दिएको अनुसार राणाको भारतमा क्यान्सरसम्बन्धी उपचारका लागि आजै (१५ वैशाख) फलोअपको अपोइन्टमेन्ट तय गरिएको छ। तर, रिहापछि आन्दोलनमा सक्रिय देखिनुले राजनीतिक वृत्तमा चासो बढाएको छ। यता, राणासँगै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै प्रहरी हिरासतमा नै छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0