पोखरा, १६ वैशाख। अभिनेत्री सुरक्षा पन्तमाथि सामाजिक सञ्जालमा गालीगलौज र अभद्र आक्रमण भइरहेको छ। टेलिभिजनको एक कार्यक्रममा व्यक्त विचारका कारण राजावादी समूहबाट उनी लक्षित बनेकी हुन्। उक्त घटनापछि केही सुभेच्छुकहरू सुरक्षाको पक्षमा उभिए पनि सामाजिक सञ्जालमा विवाद बढ्दो छ। सुरक्षाले व्यक्त गरेको स्वतन्त्र विचारलाई लिएर भएको यस्तो दुर्व्यवहारलाई धेरैले निन्दा गरेका छन्।
अभिनेत्री रिचा शर्माले पनि सुरक्षालाई समर्थन गर्दै विचार राख्ने स्वतन्त्रता सबै नागरिकको अधिकार भएको स्मरण गराइन्। रिचाले सुरक्षाको पक्षमा बोलेपछि उनी पनि अभद्र टिप्पणी र गालीगलौजको सिकार भएकी छिन्। केही गाली गर्नेहरूले पछुताउँदै माफी मागे पनि ठूलो संख्यामा अश्लील तथा तुच्छ शब्द प्रयोग भइरहेका छन्।
सुरक्षाले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र र पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै गणतन्त्र सुदृढ बनाउनु पर्ने धारणा राखेकी थिइन्। यही अभिव्यक्तिलाई लिएर उनको अभिनित चलचित्र ‘खेल’लाई समेत राजावादी समूहले बहिष्कार गर्ने अभियान चलाएको छ।
राजनीतिक विचार राखेकै कारण यसअघि पनि प्रकाश सपुत, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठजस्ता कलाकारहरू सामाजिक आक्रमणको सिकार भइसकेका छन्। यी घटनाले नेपाली समाजमा लोकतान्त्रिक मूल्य र स्वतन्त्र अभिव्यक्तिप्रतिको असहिष्णुता झल्किएको देखिन्छ।



























