पोखरा, १६ वैशाख। पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित हरिहर मन्दिर परिसरमा जारी गण्डकी कोटिहोम महायज्ञअन्तर्गत ११ हजार कलशसहितको ऐतिहासिक शोभा यात्रा सोमबार भव्यतापूर्वक सम्पन्न गरिएको छ। मानव सेवा फाउण्डेशनद्वारा आयोजित उक्त धार्मिक महायज्ञले पोखराको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक वातावरणलाई जीवन्त बनाएको छ।
शोभा यात्रा सोमबार बिहान शान्तिघाटबाट सुरु भई नयाँ बजार, पृथ्वीचोक, सिर्जनाचोक, राष्ट्रबैंक चोक हुँदै कार्यक्रम स्थलसम्म पुगेको थियो। शोभा यात्रामा ११ हजार कलशमा गंगाजल भरेर भक्तजन सहभागी भएका थिए। यात्रा अवलोकनका लागि हजारौं श्रद्धालुको भीड लागेको थियो। आयोजक समितिका अनुसार शोभा यात्रामा सहभागी समूहलाई भेषभूषा, अनुशासन र सन्देशमूलक व्यानरसहित सहभागी भएकामा पुरस्कारको व्यवस्था गरिएको थियो।
महायज्ञको प्रचार–प्रसारलाई प्रभावकारी बनाउँदै साइकल, ट्याक्सी, मोटरसाइकल र पैदल यात्रा समेत सञ्चालन गरिएको थियो। वैदिक विधिअनुसार भूमिपूजनपछिको चरणमा चैत्र २९ गतेदेखि प्रारम्भ भएको भागवत कथा प्रवचनमा हाल देवी प्रतिभाद्वारा कथा वाचन भइरहेको छ। उनले वैशाख १८ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम तय गरिएको छ। महायज्ञ अवधिभर दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीजस्ता प्रसिद्ध वक्ताहरूले प्रवचन दिने कार्यक्रम रहेको सह निर्देशक युवक लामिछानेले जानकारी दिए।
सोमबारको कथा वाचनमा भगवान कृष्णको जन्म उत्सव विशेष रुपमा मनाइएको थियो। शोभा यात्रापछि साँझ विविध भजन, झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। महायज्ञमा साधु–सन्त, महिला समूह, बालबालिका, स्वयंसेवक तथा जनप्रतिनिधिको सक्रिय सहभागिताले यसलाई पोखरेली समाजको साझा धार्मिक उत्सवको रुपमा स्थापित गरेको छ।
महायज्ञ जेठ २६ गतेसम्म जारी रहनेछ भने हरेक दिन नियमित हवन, धार्मिक अनुष्ठान, विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, दीप प्रज्वलनजस्ता कार्यक्रम सञ्चालन गरिनेछ। फाउण्डेशनले श्रद्धालुहरूलाई घ्यू, तील, देवदारु, श्रीखण्डजस्ता सामग्रीसहित सहभागी हुन आग्रह गरेको छ। साथै, सामाजिक सञ्जालमा छोटा भिडियो बनाएर प्रचार गर्नेहरूलाई २५ हजारसम्म पुरस्कार र सम्मानपत्र दिने घोषणा पनि गरिएको छ।
कोटिहोम महायज्ञले राष्ट्र शान्ति, धार्मिक पर्यटन प्रवर्द्धन, र असहाय बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षणमा योगदान दिने लक्ष्य लिएको आयोजकको भनाइ छ। भक्तजन, साधु–सन्त, दानविर तथा देश–विदेशका विशिष्ट पाहुनाहरूको उपस्थितिले कार्यक्रम थप प्रभावशाली बन्दै गएको छ।

































