पोखरा, १६ वैशाख। पोखरामा जारी गण्डकी कोटीहोम महायज्ञमा सहभागी हुँदै सामाजिक अभियन्ता तथा पत्रकार अर्जुन भुसालले धर्म र संस्कृतिको संरक्षणबाट मात्र देशको पहिचान जोगिने स्पष्ट पारेका छन्। उनले पछिल्लो समय मुलुकमा बढ्दो पाश्चात्य प्रभावका कारण धर्म, संस्कार र मूल्य मान्यता कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यसको जगेर्नाका लागि सबै नेपाली जिम्मेवार हुनुपर्ने धारणा राखे।

कार्यक्रममा बोल्दै भुसालले धर्म हाम्रो पहिचान र इतिहासको मेरुदण्ड भएको उल्लेख गर्दै यदि यसलाई हामीले जोगाउन नसक्यौं भने हाम्रो सामाजिक मूल्य–मान्यता गुम्न सक्ने चेतावनी दिए। उनले धार्मिक आवरणमा अधार्मिक गतिविधि गर्नेलाई समाजले चिन्न र निरुत्साहित गर्नुपर्ने आवश्यकता औँल्याउँदै गण्डकीवासीले महायज्ञलाई भव्य र सार्थक बनाउनेमा आफू विश्वस्त रहेको बताए।

उनले विशेषगरी युवा पुस्तालाई धर्म र संस्कृति प्रति संवेदनशील बनाउनुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले धार्मिक र सांस्कृतिक पुनर्जागरणको अवसर दिन्छ भन्ने विश्वास व्यक्त गरे। अन्य वक्ताहरूले पनि भुसालको भनाइको समर्थन गर्दै सामूहिक सहभागिताबाट मात्र धर्मको संरक्षण र प्रवर्द्धन सम्भव हुने धारणा राखेका थिए।

सहभागीहरूको अनुसार गण्डकी कोटीहोम महायज्ञले समाजमा धार्मिक चेतना, सामाजिक एकता र सांस्कृतिक जागरणको बलियो सन्देश दिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0