पोखरा, १६ वैशाख। गण्डकी कोटिहोम महायज्ञको सन्दर्भमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संविधानसभा सदस्य ज्ञानेन्द्र शाहिले धर्मको संरक्षणलाई राजनीति र समाजको आधारस्तम्भको रूपमा प्रस्तुत गरेका छन्। उनले धर्मबिना राजनीति सम्भव नभएको बताउँदै सामाजिक मूल्य, नैतिकता र सुशासनको जग नै धार्मिक चेतनामा आधारित भएको धारणा राखे।

पोखराको बिरौटास्थित हरिहर मन्दिर परिसरमा आयोजित महायज्ञमा सहभागिता जनाउँदै शाहिले धर्मका नाममा अधर्म गर्नेप्रति आक्रोश व्यक्त गर्दै गौमाताको हत्या गर्नेहरूलाई हत्यारा करार दिए। उनले धर्मलाई जोगाउन नसके हाम्रो संस्कार, संस्कृति र भावी पुस्ताको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिए। “अब धर्म बचाउन सक्यौँ भने मात्र छोरीचेली, दिदीबहिनी सुरक्षित रहनेछन्,” भन्दै उनले हिन्दु समाजले आफ्नो धर्म र संस्कारको पक्षमा एकजुट भएर प्रतिकार गर्नुपर्ने बताए।

उनले धर्म मान्नेले पाप नगर्ने तर धर्म नमान्नेले भ्रष्टाचार र अन्य सामाजिक विकृति फैलाउनेतर्फ संकेत गर्दै धार्मिक जीवनशैलीलाई नैतिकता र सुशासनको माध्यमका रूपमा जोड दिए। शाहिको यस्तो अभिव्यक्तिले वर्तमान समाजमा धर्मप्रतिको उत्तरदायित्व र धार्मिक चेतनाको खाँचो औंल्याएको छ।

महायज्ञमा अन्तर्राष्ट्रिय वाचिका देवी प्रतिभाद्वारा जारी कथा वाचनले वातावरणलाई भक्तिमय बनाएको छ भने कलश यात्रा सम्पन्न भइसकेको र भोलिदेखि कोटीहोम विधिवत् सुरु हुने आयोजक समितिले जानकारी दिएको छ। महायज्ञलाई धार्मिक, सांस्कृतिक र सामाजिक चेतनाको साझा केन्द्र बनाउने प्रयासस्वरूप देशभरका विशिष्ट व्यक्तित्वहरूको सक्रिय सहभागिता रहँदै आएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0