पोखरा, १८ वैशाख। चालू आर्थिक वर्ष ०८१/८२ मा सरकारद्वारा तय गरिएको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल नहुने देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार चालू वर्षको समग्र आर्थिक वृद्धिदर ४.६१ प्रतिशतमा सीमित हुने देखिएको हो। वर्षा अभावका कारण हिउँदे बालीको उत्पादनमा आएको गिरावट र बजेट कार्यान्वयनमा देखिएको कमजोरीले लक्ष्यअनुसारको वृद्धिदर हासिल गर्न कठिन भएको कार्यालयको निष्कर्ष छ।
तथ्यांक कार्यालयका प्रमुख मधुसुदन बुर्लाकोटीका अनुसार यो अनुमान विगत ६–८ महिनासम्मका तथ्यांकको अध्ययनका आधारमा गरिएको हो। उनले स्थिर आर्थिक अवस्था कायम रहेमा ४.६१ प्रतिशत वृद्धिदरसम्म पुग्न सक्ने प्रारम्भिक आकलन गरिएको जनाए। यो दर अघिल्लो वर्षको ३.६७ प्रतिशतको तुलनामा केही सुधार भए तापनि लक्ष्यभन्दा निकै तल छ।
चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ५७ खर्ब नौ अर्बको तुलनामा उल्लेखनीय वृद्धि हो। स्थिर मूल्यमा गणना गरिएको आधारभूत वृद्धिदर ३.९९ प्रतिशत रहेको छ।
क्षेत्रगत हिसाबले हेर्दा विद्युत् तथा ग्यास क्षेत्रमा सबैभन्दा उच्च १३.८२ प्रतिशत वृद्धिदर रहने अनुमान गरिएको छ, जसको कुल गार्हस्थ्य उत्पादनमा १.७३ प्रतिशत योगदान रहनेछ। त्यस्तै, यातायात तथा भण्डारण क्षेत्र ९.४५ प्रतिशतले वृद्धि हुने अनुमान छ। कृषि, वन तथा मत्स्य क्षेत्रले २५.१६ प्रतिशत योगदान दिनेछ भने यसको वृद्धिदर ३.२८ प्रतिशत रहने अनुमान गरिएको छ।
सञ्चार, वित्तीय सेवा, निर्माण, व्यापार, र औद्योगिक क्षेत्रहरूमासमेत सकारात्मक वृद्धि देखिएको छ। वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर ६.२९ प्रतिशत रहने अनुमान गरिएको छ, जसमा बैंकिङ निक्षेप र ऋण प्रवाहमा देखिएको विस्तार प्रमुख कारक रहेको कार्यालयको विश्लेषण छ।
अर्थशास्त्रीहरूले यी प्रारम्भिक अनुमानलाई यथार्थपरक भनेका छन् तर दीर्घकालीन स्थायित्वका लागि कृषि उत्पादन वृद्धि, उद्योग प्रवर्द्धन, र लगानीमैत्री नीति आवश्यक रहेको औंल्याएका छन्।


























