पोखरा, १८ वैशाख। नवौँ संस्करणको पोखरा स्पोटर्स अवार्डका लागि चार विधामा मनोनयन सार्वजनिक गरिएको छ। खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत वर्ष उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको हो। बाँकी तीन विधाको घोषणा भने पछि गरिने मञ्चले जनाएको छ।
वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा भलिबलका विश्वास अधिकारी (नवलपुर), टेनिसका प्रदीप खड्का (कास्की) र फुटबलका सुमित श्रेष्ठ (कास्की) परेका छन्। यस्तै, महिला तर्फ भलिबलकी अरुणा शाही (कास्की), फेन्सिङकी कृपा गुरुङ (स्याङ्जा) र तेक्वान्दो/मुआथाईकी सुस्मिता थापा मगर (बागलुङ) मनोनयनमा परेकी छन्।
वर्ष उदीयमान खेलाडीमा एथलेटिक्सका बादल कार्की (बागलुङ), भलिबलका जितबहादुर सार्की (स्याङ्जा) र क्रिकेटकी रचना चौधरी (कास्की) समावेश छन्। प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र फुटबल प्रशिक्षक राजेन्द्र तामाङ (कास्की) को नाम मनोनयन सूचीमा परेको छ।
मञ्चका अनुसार वर्ष उत्कृष्ट पुरुष र महिला खेलाडीलाई एक–एकवटा इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ भने उदीयमान खेलाडी, प्रशिक्षक, खेलकुद संघ संस्था र पत्रकार विधामा विजेताले जनही ३५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। साथै, खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’अन्तर्गत चाँदीको करुवा र ताम्रपत्र प्रदान गरिने मञ्चका महासचिव परशुराम शर्माले जनाए।
पोखरा बुलौदीस्थित इभेन्ट सेन्टरमा आगामी वैशाख २६ गते हुने अवार्ड समारोहमा बाँकी तीन विधा— लाइफटाइम एचिभमेन्ट, वर्ष उत्कृष्ट खेल संघ वा क्लब र खेल पत्रकारिताका विजेताको घोषणा गरिनेछ। सन् २०५७ मा स्थापना भएको मञ्चले २०७२ सालदेखि हरेक वर्ष स्पोटर्स अवार्ड आयोजना गर्दै आएको छ।
कार्यक्रममा बोल्दै पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले देशबाट युवाको विदेश पलायन बढ्दा खेल क्षेत्रसमेत प्रभावित भएको बताए। उनले खेलाडीलाई देशमै सम्मान र अवसर दिनुपर्नेमा जोड दिए।































