पोखरा, १९ वैशाख। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अमेरिकी सहयोग परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) रोकिँदा नेपाल थप आर्थिक संकटमा फसेको बताएका छन्। ललितपुरमा सेन्टर फर पोलिसी रिसर्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमसीसी कार्यान्वयन रोकिँदा नेपालका लागि आर्थिक भार बढेको टिप्पणी गरे।
उनका अनुसार अमेरिकाबाट प्राप्त हुने ५५ करोड डलर बराबरको सहायता रोकिनु देशको विकासमा बाधक भएको हो। एमसीसी परियोजनाअन्तर्गत नेपालले आफ्नातर्फबाट १४ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको भए पनि अहिलेसम्म २७ अर्ब खर्च भइसकेको जानकारी दिँदै उनले कार्यान्वयनको १९ महिना बितिसकेको र आगामी तीन वर्षमा प्रतिवर्ष ३४ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने चुनौती रहेको बताए।
पाण्डेले अहिले लागिसकेका तीन ठेक्का सम्झौता रद्द गर्न नसकिने स्पष्ट पारे। यदि रद्द गरिएमा अन्तर्राष्ट्रिय अदालतमा क्षतिपूर्ति दाबी हुन सक्ने सम्भावना रहेको भन्दै उनले नेपाललाई अबको अवस्थामा एमसीसी निल्नु न ओकल्नु बन्न पुगेको टिप्पणी गरे।
उनले युएसएआइडीले पनि सहयोग रोक्दा देशको धेरै परियोजना प्रभावित भएको उल्लेख गरे। ९० अर्ब रुपैयाँ बराबरको पाँचवर्षे सम्झौता रोकिएपछि कार्यालयहरू बन्द भएको, होटल तथा हवाई सेवा प्रभावित भएको र समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको उनको भनाइ थियो।





























