पोखरा, १७ वैशाख। पोखरा महानगरपालिका–१७ बिरौटामा हरिहर मन्दिर नजिकै सुरु गरिएको गण्डकी कोटीहोमको पहिलो दिन भव्य र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। भारतीय धर्मगुरु स्वामी कैलाशानन्दजी महाराजको प्रमुख उपस्थितिमा महायज्ञको विधिवत् उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा कास्की नेपाली कांग्रेस सभापति किशोर बराल, पत्रकार सन्तोष देउजा लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रह्यो।
स्वामी कैलाशानन्दले उद्घाटनपश्चात् कृष्णलिलाको भावपूर्ण कथा वाचन गरेका थिए। महायज्ञका संकल्पकर्ता विजयमुक्ति महाराजका अनुसार स्वामीको उपस्थिति र कथा वाचनले कार्यक्रममा आध्यात्मिक उर्जा थपेको छ। पहिलो दिनदेखि नै श्रद्धालुहरूको उल्लेख्य सहभागिताले आयोजकमा थप उत्साह बढाएको छ।
महायज्ञमा विभिन्न ख्यातिप्राप्त धर्मगुरुहरूद्वारा कथा वाचन हुनेछ। देवी प्रतिभाले आज कथा वाचनको अन्तिम दिन टुङ्ग्याइन् भने अनुराधा पाण्डेले यसअघि आफ्नो कथा समाप्त गरिसकेकी छिन्। आगामी दिनमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज र सुप्रिया किशोरीजस्ता आध्यात्मिक व्यक्तित्वहरूले कथा वाचन गर्ने कार्यक्रम तय गरिएको छ।
यज्ञ अवधिभर सत्सङ्ग, पूजापाठ, आरती, भजन, र सांस्कृतिक कार्यक्रमहरू निरन्तर सञ्चालन हुनेछन्। साथै, भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ, जसले रचनात्मकता र सांस्कृतिक चेतनालाई प्रोत्साहन गर्नेछ। आयोजकले देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता रहने विश्वास व्यक्त गरेको छ।































