पोखरा, १८ वैशाख। पोखरा महानगरपालिका–१७ बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा सञ्चालन भइरहेको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका चार सयभन्दा बढी ब्राह्मणहरूको सहभागिता हुने भएको छ। मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा भइरहेको यस धार्मिक महायज्ञमा एक सय वटा हवन कुण्ड तयार गरिएका छन्, जसमा प्रत्येक कुण्डमा तीन/तीन जना ब्राह्मणले दैनिक रूपमा भगवती गायत्री मन्त्रद्वारा हवन सम्पन्न गर्नेछन्।
महायज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार १०८ भागवत महापुराण पाठ, चार वेद पाठ, सप्तचण्डी, अति रुद्री, मन्त्र जप लगायतका धार्मिक क्रियाकलाप ब्राह्मणहरूमार्फत निरन्तर सम्पन्न हुँदै छन्। मूल मण्डपमा महायज्ञका संकल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका माता–पिताको विशेष उपस्थितिमा यज्ञ सम्पन्न भइरहेको छ भने अन्य मण्डपमा ब्राह्मणद्वारा नृत्य हवन गरिँदैछ।
वैशाख १९ गते बिहान ६:४५ मा अग्निमन्थन, ७:१५ मा यज्ञकुण्डमा अग्निप्रवेश, ७:१९ मा समिधा दान, र ८:०५ मा आहुति प्रदान गर्दै औपचारिक रूपमा हवन कार्यको शुभारम्भ हुने जानकारी दिइएको छ। यो प्रक्रिया जेठ २६ गतेसम्म जारी रहनेछ। हवन कार्य बिहान ८ बजेबाट ११ बजेसम्म र दिउँसो १:१५ पछि पुनः ४ बजेसम्म सञ्चालन हुनेछ।
हवन कुण्डमा इच्छुक व्यक्तिले ‘कर्ता’का रूपमा बस्न सक्ने व्यवस्था गरिएको छ, जसका लागि आयोजकले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको सहयोग राशिको व्यवस्था गरेको छ। कर्ताका लागि आवश्यक सम्पूर्ण सामग्री आयोजकले नै व्यवस्थापन गर्नेछ।
साथै महायज्ञ अवधिभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको भजन, नृत्य, झाँकी, देव लीला लगायतका सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत हुँदैछन्। यज्ञ स्थलगत गतिविधिमा प्रदेश र संघीय सरकारका सांसद, सामाजिक अभियन्ता, धर्मगुरु, सञ्चारकर्मी तथा भक्तजनहरूको उपस्थिति निरन्तर बढ्दो क्रममा रहेको आयोजकले जनाएको छ।
भद्र वातावरणमा सञ्चालित यस ऐतिहासिक महायज्ञको प्रारम्भ वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनाइबाट भएको हो। अनुराधा पाण्डेद्वारा शुभारम्भ गरिएको कथा वाचन अहिले अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाबाट सम्पन्न हुँदैछ। शुक्रबारदेखि व्यास आचार्य प्रशान्त कृष्ण पंराकुसजीसहित अन्य साधु–सन्तले कथा वाचनको जिम्मेवारी लिनेछन्।































