पोखरा, १९ वैशाख। पोखरामा बिहीबारदेखि सुरु भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले शानदार प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ। पहिलो दिनको दोस्रो खेलमा समूह ‘बी’ अन्तर्गत पुलिसले भारतीय टोलीलाई सोझो तीन सेटमा पराजित गर्दै प्रतियोगितामा तीन अङ्क जोडेको हो।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न उक्त खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक रह्यो, जसमा पुलिसले २५–२३ को कठिन जित हात पार्यो। त्यसपछि भने पुलिस टोलीले दबाबमुक्त खेल्दै दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२० को सहज जित निकाल्दै पहिलो जित दर्ता गर्यो।
यसअघि पहिलो खेलमा समूह ‘ए’ अन्तर्गत इरानी टोलीले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा हराउँदै प्रतियोगितामा आफ्नो उपस्थितिलाई प्रभावशाली बनाएको थियो। प्रतियोगितामा दुई समूहमा विभाजित ६ टोली सहभागी छन्। समूह ‘ए’ मा इरान, एपीएफ र गण्डकी प्रदेश छन् भने समूह ‘बी’ मा भारत, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।
प्रतियोगिताको दोस्रो दिन शुक्रबार इरानी टोली र गण्डकी प्रदेशबीच १२ः३० बजे पहिलो खेल हुनेछ भने २ः३० बजे दोस्रो खेल भारतीय टोली र त्रिभुवन आर्मी क्लबबीच हुनेछ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल बैशाख २२ गते हुनेछ।
विजेता टोलीले नगद ४ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेतालाई २ लाख ४४ हजार ४४४, तेस्रो हुनेलाई १ लाख ४४ हजार ४४४ रुपैयाँ प्रदान गरिनेछ। सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४४४ र विधागत रूपमा उत्कृष्ट खेलाडीले ८ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन्।






























