पोखरा, १९ वैशाख। कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको दुईदिने ‘कोशी लगानी सम्मेलन’ बिहीबारदेखि सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सम्मेलनमा उद्योग, पूर्वाधार र पर्यटनजस्ता प्रमुख क्षेत्रलाई प्राथमिकतामा राख्दै कुल एक खर्ब ७३ अर्ब ४९ करोड लागतका ७१ परियोजनाहरू सोकेस गरिएका छन्। उद्योग क्षेत्रतर्फ ६५ अर्ब ८७ करोड, पूर्वाधारतर्फ ५३ अर्ब १४ करोड र पर्यटनतर्फ ४० अर्ब ९० करोड लागतका परियोजनाहरू प्रस्तुत गरिएको छ।

सबैभन्दा ठूलो योजना उदयपुरमा स्थापना गरिने ३२ अर्ब लागतको क्लिंकर उद्योग हो। प्रधानमन्त्री ओलीले कोशी प्रदेशमा उद्योग–व्यापारको प्रचुर सम्भावना रहेको भन्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे। उनले प्रदेशमा ट्रेड युनियनको अधिकार सुनिश्चित भएको, पूर्वाधार सुदृढ भएको र भारत तथा बंगलादेशजस्ता बजार नजिक भएका कारण लगानी अनुकूल वातावरण तयार भइसकेको उल्लेख गरे।

सम्मेलनमा गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले एनआरएनहरूले अझै नागरिकताको पूर्ण अधिकार नपाएको गुनासो गर्दै, लगानीमैत्री कानुनी व्यवस्थाको कार्यान्वयनमा जोड दिए। नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशमा सम्भावना देखेर आफैंले पनि लगानी सुरु गरिसकेको जानकारी गराए।

कोशी प्रदेश सरकारले आठवटा ऐन संशोधनसहित १६ बुँदे नीतिगत प्रतिबद्धता जारी गरेको र संघीय सरकारले पनि आवश्यक कानुनी सुधार गरिसकेको जानकारी दिइएको छ। सम्मेलनमा अन्य प्रदेशका मुख्यमन्त्री तथा नेताहरूले कोशीलाई लगानीको उपयुक्त गन्तव्यका रूपमा चित्रित गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0