पोखरा, १९ वैशाख। भारतको इनर्जी एक्सचेन्जमार्फत नेपालले अब दैनिक १५ घण्टा विद्युत् आयात गर्न पाउने भएपछि औद्योगिक क्षेत्रमा देखिएको आपूर्ति संकट समाधान हुने संकेत देखिएको छ। नेपाल विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार भारतले बिहीबारदेखि राति २ बजेदेखि बिहान ६ बजेसम्म ६ सय मेगावाटसम्म विद्युत् आयातको अनुमति दिएको छ। यो सुविधा मे र जुन महिनासम्म कायम रहनेछ।

नेपालमा पछिल्लो समय तापक्रम वृद्धिसँगै आन्तरिक उत्पादनमा पनि वृद्धि भइरहेको छ। खोलानालामा पानीको बहाव बढेपछि उत्पादनमा सकारात्मक असर परेको प्राधिकरणको भनाइ छ। बुधबार साँझ पिक आवरमा कुल १५ सय २३ मेगावाट विद्युत् उत्पादन भएको थियो, जसमा प्राधिकरणका आयोजनाबाट ४१९ मेगावाट, सहायक कम्पनीहरूबाट ५२५ मेगावाट र निजी क्षेत्रबाट ५७९ मेगावाट उत्पादन भएको हो।

यसबाहेक उत्तर प्रदेश र बिहारस्थित पावर एक्सचेन्जमार्फत २४ घण्टा नै आयात भइरहेकाले आपूर्ति थप सन्तुलित हुने देखिएको छ। अघिल्लो समय भारतले आइपिएल र गर्मीको कारण देखाउँदै रातिको समयमा विद्युत् आपूर्ति रोकेको थियो। तर, पछिल्लो निर्णयअनुसार अब नेपालले लगातार राति २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आयात गर्न सक्ने भएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ कि आन्तरिक उत्पादनमा वृद्धि र भारतबाट थप ४ घण्टा विद्युत् आयातको स्वीकृतिले औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सहज हुने अपेक्षा गरिएको छ। यसले उद्योगहरूमा भइरहेको कटौती न्यून गराउनेछ र मागअनुसारको आपूर्ति सुनिश्चित हुनेछ।

यसैबीच, प्राधिकरणभित्र राजनीतिक हस्तक्षेप र नेतृत्व परिवर्तनसँगै पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङप्रति पूर्वाग्रही धारणा प्रस्तुत गर्न खोजिएको आरोप पनि सतहमा आएको छ। श्वेतपत्र तयार पार्ने क्रममा तथ्यांक तोडमोड भएको भन्दै विवाद उत्पन्न भएको छ। श्वेतपत्रको अन्तिम मस्यौदा तयार भए पनि बोर्डको निर्देशनमा सार्वजनिक गर्ने कार्य केही समयका लागि रोकिएको जनाइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0