पोखरा, २० वैशाख। पोखरा–१७ स्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन भइरहेको श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन गरिएको छ। मानव सेवा फाउण्डेशनको आयोजनामा र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिता रहेको बताइएको छ।
१६ औं दिन पुगेको कोटीहोममा शनिबारमात्रै करिब १५ हजार भक्तजन सहभागी भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए। भक्तजनहरूको भीडसँगै आर्थिक सहयोगमा समेत उल्लेख्य वृद्धि भएको छ। शनिबारमात्र पोखराका शेरबहादुर गुरुङले एक लाख एक सय पाँच तथा म्याग्दीका रामचन्द्र जिसीले ५१ हजार एक सय ११ रुपैयाँ दान गरेका छन्। कार्यक्रम अन्तरगत कलश यात्रामा सहभागी आमा समूहहरूलाई सम्मान गरिएको छ भने लोकदोहोरी गायक राजन कार्कीले सांगीतिक प्रस्तुति दिएका थिए।
महायज्ञ स्थलमा हरेक दिन विहान ८:०५ बजे एक सय कुण्डमा ब्राह्मणद्वारा गायत्री मन्त्र विधिबाट हवन गरिन्छ। महायज्ञको क्रममा एक सय आठ श्रीमद्भागवत महापुराण पाठ, चार वेद पाठ, सप्तचण्डी, अति रुद्री तथा मन्त्रजपलगायत धार्मिक कार्यक्रमसमेत जारी छन्। विगत १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभालाई बिदाई गरिए पनि पुनः निमन्त्रणा गर्ने प्रयास भइरहेको छ।
यही महायज्ञमा आइतबारदेखि खुला भजन चुट्का प्रतियोगिता सुरु हुँदैछ। आयोजक प्रजापति पराजुलीका अनुसार प्रतियोगितामा देशभरबाट करिब तीन सय प्रतियोगीको सहभागिता रहनेछ। प्रतियोगिताका विजेतालाई तीन लाख ५५ हजारदेखि ६५ हजारसम्मको नगद पुरस्कारसहित अन्य ११ विधामा छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको छ।
कोटीहोम जेठ २६ गतेसम्म निरन्तर सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ।
































