पोखरा, २२ वैशाख। पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागिता दिनप्रतिदिन बढ्दै गएको छ। शनिबार करिब १५ हजार र आइतबार त्यो भन्दा बढी श्रद्धालु सहभागी भएको आयोजकले जनाएको छ। प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार १७ दिनमा करीब डेढ लाख भक्तजनले कोटीहोमको दर्शन गरेका छन्।
महायज्ञमा धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक गतिविधिहरू निरन्तर जारी छन्। एक सय कुण्डमा गायत्री मन्त्र विधिबाट हवन, भागवत महापुराण पाठ, चार वेद पाठ, सप्तचण्डी, अति रुद्री, मन्त्रजपजस्ता वैदिक कर्म सम्पन्न भइरहेका छन्। आइतबार बिहान ८ः०५ बजे पनि यज्ञ कुण्डहरूमा विधिपूर्वक हवन सम्पन्न गरिएको थियो।
कोटीहोममा वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल आफ्नै झाँकी र संगीत समूहसहित कथा वाचनका लागि सहभागी हुनेछन्। त्यसपछि जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, देवी चन्द्रकला सखी र चैतन्यकृष्ण महाराजले प्रवचन दिने कार्यक्रम तय भएको छ। यस्तै, जेठ १० देखि १६ सम्मका लागि अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभालाई निम्त्याउने प्रयास भइरहेको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ।
शनिबारदेखि सुरु भएको खुला भजन चुट्का प्रतियोगितामा देशभरबाट करिब तीन सय सहभागीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताका विजेताहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कारसहित ११ विधामा छुट्टाछुट्टै पुरस्कार वितरण गरिने संयोजक प्रजापति पराजुलीले जानकारी दिए।
आइतबार महायज्ञस्थलमा पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बराल, पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्यलगायत जनप्रतिनिधिको उपस्थिति थियो। उनीहरूले कोटीहोम पोखराको धार्मिक पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको भन्दै सहयोगको आह्वान गरे। आजै सम्पन्न रक्तदान कार्यक्रममा २२ युनिट रगत संकलन भएको छ। रक्तदान कार्यक्रम हरेक दिन सञ्चालन गरिनेछ।
वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड खनाइबाट सुरु भएको कोटीहोम आगामी २०८२ जेठ २६ गतेसम्म सञ्चालन हुने छ।































