पोखरा, २३ वैशाख। पोखराको सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन भइरहेको श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ थप धार्मिक र सामाजिक गतिविधिहरूले सम्पन्न हुँदै गएको छ। आयोजक मानव सेवा फाउण्डेशनका अनुसार आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजारभन्दा बढी कन्याहरूलाई सहभागी गराई विशेष पूजा गरिने तयारी भइरहेको छ। साथै, ७० वर्षमाथिका एक हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई श्रीमद्भगवत गीता र रामनाम पुस्तक वितरण गर्दै सम्मान गरिनेछ।

कोटीहोमको धार्मिक कार्यक्रमसँगै समाजसेवामूलक गतिविधिहरू पनि सञ्चालन भइरहेको छ। सोमबार सम्पन्न रक्तदान कार्यक्रममा २३ युनिट रगत संकलन गरिएको छ र यो कार्यक्रम महायज्ञ अवधिभर दैनिक रूपमा जारी रहनेछ। भक्तजनको सहभागिता उल्लेखनीय रहँदै आएको यस महायज्ञमा १९ दिनसम्म झन्डै एक लाख ६५ हजार भक्तजनको उपस्थिति भइसकेको प्रचार संयोजक लेखराज ढकालले जनाए।

कोटीहोम स्थलमा एक सय वटा यज्ञ कुण्डमा तीन–तीनजना ब्राह्मणले विधिवत हवन सम्पन्न गर्दै आएका छन्। साथै, भागवत महापुराण, चार वेद, सप्तचण्डी, अति रुद्री लगायतका पाठहरू पनि जारी छन्। खुला भजन चुट्का प्रतियोगिता अन्तर्गत देशभरका तीन सयभन्दा बढी सहभागीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। विजेतालाई तीन लाख ५५ हजारदेखि सान्त्वना पुरस्कार ६५ हजारसम्म वितरण गरिने छ भने ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँको दरले पुरस्कारको व्यवस्था गरिएको छ।

धर्मगुरु तथा वाचिक व्यक्तित्वहरूको समेत उल्लेखनीय सहभागिता रहँदै आएको कोटीहोममा दिनबन्धु पोखरेल, राधिका दासी, देवी चन्द्रकला सखी, चैतन्यकृष्ण महाराज र देवी प्रतिभाजस्ता प्रमुख प्रवचनकर्ता सहभागी हुँदैछन्। भारतीय आचार्य प्रशान्तकृष्ण पं. पंराकुशजी तथा सुप्रिया वाचिका लगायत साधु-सन्तहरूको समेत उल्लेख्य उपस्थिति देखिएको छ।

राजनीतिक वृत्तबाट पनि चासो बढ्दो छ। सोमबार वागमती प्रदेश सभामुख भुवनकुमार पाठक र उपसभामुख अप्सरा चापागाईं सहभागी बनेका थिए। उनीहरूले यस्तो धार्मिक आयोजनाले गण्डकी प्रदेशमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेताहरूको समेत उपस्थिति देखिएको छ भने यसअघि राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही र गण्डकी प्रदेश सरकारका मन्त्री तथा सांसदहरूको समेत सहभागिता रहिसकेको छ।

भू–पूजनसहित वैशाख ३ गतेदेखि सुरु भएको कोटीहोम आगामी जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0