पोखरा, २३ वैशाख। प्रख्यात वामपन्थी नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री प्रदीप नेपालको निधन भएको छ। लामो समयदेखि पार्किन्सन रोगबाट पीडित रहेका नेपाललाई स्वास्थ्य अवस्था जटिल बनेपछि थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो। केहीबेरअघि नै उनले अन्तिम सास लिएको उनका भाञ्जा सुरेश निरौलाले पुष्टि गरेका छन्।

नेता नेपाल नेपाली वाम आन्दोलनका एक सक्रिय योद्धाका रूपमा चिनिन्थे। पाँच दशकभन्दा बढी समयसम्म कम्युनिष्ट आन्दोलनमा समर्पित उनले कोअर्डिनेशन केन्द्र, तत्कालीन नेकपा माले हुँदै नेकपा एमालेको स्थायी समिति सदस्यसम्मको यात्रा तय गरेका थिए। उनी पार्टीको नवौं महाधिवेशनमा उपाध्यक्ष पदका प्रत्यासीसमेत बनेका थिए।

राजनीतिक जीवनका अतिरिक्त प्रदीप नेपाल प्रगतिशील साहित्यका समर्पित लेखक पनि थिए। उनका थुप्रै साहित्यिक कृतिहरू प्रकाशित छन्, जसले नेपाली राजनीतिक चिन्तन र जनचेतनामा गहिरो प्रभाव छाडेका छन्। गोठाटारस्थित काँडाघारी निवासमा रहँदै आएका नेपाललाई अवस्था गम्भीर भएपछि अस्पताल लगिएको थियो।

उनको निधनसँगै नेपाली वाम आन्दोलनले एक कुशल रणनीतिज्ञ र विचारशील नेतृत्व गुमाएको छ। नेकपा एमालेलगायत समग्र वामपन्थी धारमा उनको योगदान दीर्घकालीन र ऐतिहासिक रहेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0