पोखरा, २३ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आमनागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार गर्न आवश्यक रहेको बताएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३औँ वार्षिकोत्सव समारोहमा बोल्दै राष्ट्रपति पौडेलले नेपाली संविधानले नागरिकलाई स्वास्थ्य तथा शिक्षा जस्ता आधारभूत आवश्यकता सुनिश्चित गरेको उल्लेख गरे।

उनले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा लगानी गर्नु संविधानको मर्मसँग जोडिएको कुरा भन्दै चिकित्सकहरूले सेवा भावले पेसामा योगदान दिनुपर्ने आवश्यकता औंल्याए। राष्ट्रपति पौडेलले नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा र दक्ष जनशक्ति उत्पादन हुनु सकारात्मक संकेत भएको बताए। तर, स्वास्थ्य सेवा प्रणालीमा सुधार भइरहे पनि सबै जनशक्तिले अवसर नपाएको भन्ने गुनासो आइरहेको भन्दै चिकित्सकको विदेश पलायन चिन्ताजनक भएको धारणा व्यक्त गरे।

उनले स्वास्थ्य सेवामा नवप्रवर्तन, अनुसन्धान र सेवा विस्तारमा प्रतिष्ठानको भूमिका उल्लेखनीय भएको र आगामी दिनमा सेवा क्षेत्र अझै व्यापक बनाउने दिशामा संस्थाले योगदान दिनुपर्ने बताए। प्रतिष्ठानले भौगोलिक तथा सामाजिक विविधताभित्र रहेका नागरिकलाई सेवा पुर्‍याउँदै आएको उल्लेख गर्दै राष्ट्रपतिले भविष्यमा विभिन्न नयाँ विधामा दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा समेत सफलता मिल्ने विश्वास व्यक्त गरे।

सो अवसरमा प्रतिष्ठानले प्रा.डा. सुदीपकुमार भट्टाचार्यलाई सम्मान गरेको छ भने विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0