पोखरा, २५ वैशाख। पोखरा–१७ स्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिर परिसरमा सञ्चालन भइरहेको श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उल्लेखनीय उपस्थिति देखिन थालेको छ। दिनानुदिन भक्तजनहरू बढ्दै जाँदा महायज्ञ स्थलमा धार्मिक उत्साहले भरिएको दृश्य देखिन्छ।
कोटिहोममा “जे जसले सक्छ, उसले त्यही दान” भन्ने अवधारणाअनुसार आर्थिक तथा सामाग्री सहयोग लिन सकिने व्यवस्था गरिएको छ। यसले गर्दा दानदाताको सहभागिता झनै व्यापक बनिरहेको छ। बिहीबार मात्र पनि दर्जनौं भक्तजनले नगद तथा सामग्री सहयोग गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशका अध्यक्ष पञ्चराम गुरुङले ५१ हजार, दिननाथ तिमिल्सिनाले २५ हजार ५ र राधिका खत्रीले २५ हजार २५ रुपैयाँ दान गरेका छन्।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि पञ्चराम गुरुङले कोटिहोमलाई तपोभूमि र देवभूमिको रूपमा वर्णन गरे। महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिको प्रयास र निष्ठाको प्रशंसा गर्दै उनले हिन्दू संस्कार र परम्परालाई संरक्षण गर्न सबैलाई आह्वान गरे। गुरुङ स्वयंले पनि ५१ हजार रुपैयाँ महायज्ञमा योगदान दिए।
कोटिहोममा देशका विभिन्न भागबाट धार्मिक र सांस्कृतिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति भइरहेको छ। बिहीबार हास्य कलाकार जोगिन्दर पानवाला, महिला रेस्लर भगवती खड्का युनिका, एनआरएनका प्रतिनिधि विश्व बास्तोलाजस्ता व्यक्तित्वहरू सहभागी भए।
भोलि शुक्रबार लोकप्रिय गायिका समीक्षा अधिकारीको भजन प्रस्तुति र शनिबार लोकगायक पशुपति शर्मा, गायिका राधिका हमालको सांगीतिक कार्यक्रम हुने प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए। आइतबार लोकदोहोरी गायिका अस्मीता ढल्लाकोटी पनि सहभागी हुने कार्यक्रम तय भएको छ।
महायज्ञका अवसरमा जेठको पहिलो साता राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ। “सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी” विषयमा हुने उक्त प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका विद्यार्थी सहभागी हुनेछन्। विजेताहरूलाई आकर्षक नगद पुरस्कार र सम्मान प्रदान गरिनेछ।
यसैबीच, वैशाख २७ गते एक हजार भन्दा बढी बालिकासहित विशेष पूजा, ७० वर्षमाथिका ज्येष्ठ नागरिक सम्मान, वैशाख २९ गते चौरासी पूजन, पार्थिव शिवलिङ्ग निर्माण, भूमि पूजन, तुला दान, शुभ विवाह, रुद्राभिषेक, अति रुद्री, लघुरुद्री जस्ता विविध धार्मिक क्रियाकलाप सञ्चालन हुनेछन्।
महायज्ञमा ४ सयभन्दा बढी ब्राह्मणले दैनिक यज्ञ सञ्चालन गरिरहेका छन् भने श्रद्धालुहरू हवन सामग्रीको दान र हवन कुण्ड परिक्रमासमेत गरिरहेका छन्। सामूहिक व्रतबन्ध कार्यक्रम पनि विधिपूर्वक सम्पन्न भइरहेको छ।
प्रवचनका लागि पं. दिनबन्धु पोखरेल वैशाख २८ देखि जेठ ३, राधिका दासी, देवी चन्द्रकला सखी तथा चैतन्यकृष्ण महाराज जेठ १४ देखि २२ गतेसम्म सहभागी हुनेछन्।































