पोखरा, २८ वैशाख। जलविद्युत् ‘हब’ का रूपमा चिनिँदै गएको लमजुङ जिल्लामा हाल १७ वटा आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ। मस्र्याङ्दी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदी लगायतका खोलाबाट सञ्चालनमा रहेका ती आयोजनाबाट हालसम्म करिब ३०० मेगावाट विद्युत् उत्पादन भइरहेको लमजुङ विद्युत् वितरण केन्द्रले जनाएको छ।

मस्र्याङ्दी नदीमा निर्माण गरिएको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनादेखि लिएर ८० किलोवाट क्षमताको मिदिम माइक्रो हाइड्रो आयोजनासम्मका विविध आयोजना सञ्चालनमा छन्। ती आयोजनाबाट जिल्लाका ४० हजारभन्दा बढी ग्राहकले सेवा लिएका छन्। चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म मात्रै दुई करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् बिक्री भई १९ करोडभन्दा बढी आम्दानी भएको केन्द्रका प्रमुख मेघनाथ भट्टराईले जानकारी दिए।

जिल्लामा ११ वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। तीमध्ये ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेँसी, ४० मेगावाटको सुपर न्यादी, २१ मेगावाटको न्यादी फिदी लगायतका आयोजना उल्लेखनीय छन्। लमजुङमा करिब दुई हजार ५०० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न सकिने प्राविधिक अनुमान गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0