पोखरा, २९ वैशाख। बागमती प्रदेश सभाको १६औँ अधिवेशन यही जेठ ५ गतेका लागि आह्वान गरिएको छ। बागमती प्रदेश सरकारको २३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेका हुन्। अधिवेशन सोमबार बिहान ११:०० बजे सुरु हुनेछ।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सूचनामा सबै माननीय प्रदेशसभा सदस्यहरू र मन्त्रीहरूलाई समयमै उपस्थित हुन आग्रह गरिएको छ। यो अधिवेशन बजेट अधिवेशनका रूपमा परिचालित हुने भएकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम, सरकारका निर्णय र विकास योजनाहरूको समग्र समीक्षासहित गहन छलफल गरिनेछ।
साथै अधिवेशनले प्रदेशको विकास, सुशासन र सेवा प्रवाहसम्बन्धी महत्वपूर्ण विषयमा समेत विमर्श गर्ने अपेक्षा गरिएको छ। यसअघि चैत १९ र २० गतेका लागि आह्वान गरिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलहरूबीचको विवादका कारण नबस्दा चैत २० गते हिउँदे अधिवेशन अन्त्य गरिएको थियो।


























