पोखरा, २९ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रक्रिया सहमतिका आधारमा अघि बढाउने सरकारको स्पष्ट प्रतिबद्धता जनाएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संविधानको सबल पक्षलाई अझ प्रभावकारी बनाउँदै कार्यान्वयनमा देखिएका कमजोरीहरू सच्याउने उद्देश्यले संशोधन प्रक्रिया अघि बढाइने बताए।
उनले सरकार गठनका वेला संविधानको समीक्षा गर्ने वाचा स्मरण गराउँदै त्यसअनुसार सकारात्मक परिवर्तनको ढोका खोलिने उल्लेख गरे। राजनीतिक स्थायित्वका लागि दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा, आपसी संवाद, सहकार्य र सहअस्तित्व आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नीतिगत स्थिरता सुनिश्चित गर्न निरन्तर प्रयास भइरहने स्पष्ट पारे।
संविधान राजनीतिक सहमतिका आधारमा बनेको दस्तावेज भएकोले त्यसको समीक्षा पनि समावेशी संवाद र विश्वासका साथ गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो। उनले संविधानलाई लचकता दिँदै जनभावनाअनुसार संशोधन गरिने प्रतिबद्धता व्यक्त गरे।
सत्ता स्थायित्वका लागि नीति र नेतृत्वमा स्थायीत्व आवश्यक रहेको भन्दै ओलीले संवैधानिक प्रक्रिया र लोकतान्त्रिक मूल्यहरूको सम्मान गर्दै अघि बढ्ने सरकारको दृष्टिकोण रहेको बताए।




























