पोखरा, २९ वैशाख। अमेरिका र चीनबीच लामो समयदेखि चलेको व्यापारिक तनावलाई कम गर्ने उद्देश्यले भएको वार्ताबाट महत्वपूर्ण व्यापार सम्झौता भएको छ। जेनेभामा दुई दिनसम्म चलेको संवादपछि दुबै देशबीच सहमति बनेको हो। यो सम्झौताले पछिल्लो समय तीव्र बनेको व्यापार युद्धको अवस्था केही सहज बनाउने विश्वास व्यक्त गरिएको छ।

अमेरिकी सेक्रेटरी अफ ट्रेजरी स्कट बेसेन्टले सम्झौतालाई महत्वपूर्ण प्रगति भएको भन्दै दुबै पक्षका लागि उत्साहजनक क्षण भएको प्रतिक्रिया दिएका छन्। उनले सम्झौताको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने जानकारी समेत दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्झौताको विषयमा जानकारी गराइएको उनले बताएका छन्।

अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले दुई दिनको वार्ता रचनात्मक भएको बताउँदै सहमतिको बिन्दु छिटै पहिचान भएको उल्लेख गरे। उनले प्रारम्भिक रुपमा सोचिएभन्दा कम मतभेद देखिएकोले सम्झौता सम्भव भएको बताए।

विगतमा एकअर्कामाथि ट्यारिफ र अतिरिक्त शुल्क लगाउँदै आएको दुबै मुलुकबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको थियो। हालै राष्ट्रपति ट्रम्पले अमेरिका सन् २०२५ सम्म १२ सय अर्ब डलर घाटामा रहेको भन्दै ट्यारिफ बढाउने चेतावनी दिएका थिए, जसले चिन्ता थपिएको थियो।

तर, पछिल्लो सम्झौता व्यापार सम्बन्ध सुधारको दिशामा महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले दुवै मुलुकबीच आपसी विश्वासमा आधारित आर्थिक सम्बन्ध विस्तार गर्ने आशा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0