पोखरा, २९ वैशाख। आज २५६९औं बुद्धजयन्ती अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्थलहरूमा विशेष पूजाअर्चना, ध्यान, रक्तदान र अन्य आध्यात्मिक कार्यक्रमहरू आयोजना गरिँदै छन्। बुद्धको शान्तिपूर्ण शिक्षालाई सम्झदै स्वयम्भू, बौद्ध, पाटन, नमोबुद्ध र अन्य प्रसिद्ध बौद्ध स्थलहरूमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा आज विशेष पूजाअर्चना कार्यक्रमको आयोजना गरिएको छ जहाँ नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौद्ध धर्मगुरुहरू, भीक्षु, कूटनीतिक नियोगका प्रतिनिधिहरू तथा विभिन्न देशका पाहुनाहरू सहभागी हुँदै छन्। विशेष पूजाको साथ बुद्धको अस्तुधातुको दर्शन गराउने कार्यक्रम पनि आजकै दिनका लागि तय गरिएको छ।

स्वयम्भू परिसरभित्र रहेको आनन्दकुटी विहारमा राखिएको बुद्धको अस्तुधातु पूजाआजा र दर्शनका लागि खुला गरिएको छ, जुन प्रत्येक बुद्धजयन्तीमा मात्र सार्वजनिक गरिन्छ। दिउँसो सार्वजनिक बौद्धसभा, रक्तदान तथा प्रसाद वितरण कार्यक्रमहरू आयोजना हुने महासमिति अध्यक्ष भीक्षु धर्ममूर्तिले जानकारी दिए।

बुद्धजयन्तीको दिनले बुद्धका शिक्षाप्रति श्रद्धा प्रकट गर्नुका साथै विश्वभर शान्तिको सन्देश फैलाउने अवसर पनि प्रदान गर्छ। यस दिनलाई राष्ट्रिय एकता, सद्भाव र सहिष्णुताको प्रतीकस्वरूप मनाउने गरिन्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0