पोखरा, २९ वैशाख। संयुक्त राज्य अमेरिकाका २८ वटै सबैभन्दा बढी जनसंख्या भएका सहरहरू बर्सेनि दुईदेखि दश मिलिमिटरसम्मको दरमा भासिँदै गएका छन् भन्ने नयाँ अध्ययनले देखाएको छ। भर्जिनिया टेक विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको टोलीले स्याटेलाइट-आधारित राडार प्रविधिको प्रयोग गरी अमेरिका भरिका ठूला सहरहरूमा जमिन भासिने दरको विस्तृत नक्सा तयार गरेका हुन्।

अध्ययन अनुसार ती सबै सहरहरूमा कम्तीमा २० प्रतिशत भूभाग जमिनमुनि भासिँदै गएका छन् भने २५ सहरमा त ६५ प्रतिशतभन्दा धेरै भाग प्रभावित भएको देखिएको छ। टेक्सास राज्यभित्रका सहरहरूमा यो समस्या अझ गम्भीर देखिएको छ, जहाँ ह्युस्टन सबैभन्दा बढी प्रभावित सहरको रूपमा उभिएको छ। ह्युस्टनमा झन्डै ४० प्रतिशत क्षेत्र बर्सेनि पाँच मिलिमिटरभन्दा बढीको दरमा भासिँदै गएको छ भने १२ प्रतिशत भूभाग दस मिलिमिटरको दरमा झर्दै गएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार जमिन भासिनु विश्वभर देखिने प्राकृतिक भूगर्भीय प्रक्रिया हो। तर अमेरिकामा देखिएको भासिने ८० प्रतिशत समस्या मानवजनित हो, जुन भूमिगत पानीको अत्यधिक प्रयोगका कारण उत्पन्न भएको हो। शहरीकरणको तीव्र विस्तारसँगै यो समस्या अझ गहिरिँदै गएको अनुसन्धानले देखाएको छ।

यस किसिमको भासिने प्रक्रिया तटीय सहरहरूमा समुद्री सतहको वृद्धिसँग मिलेर डुबानको जोखिम बढाउने खालको छ भने भित्री भूभागमा रहेको पूर्वाधारहरूमा असमान जमिनको कारण क्षति पुर्याउने खतरा पनि रहेको अनुसन्धानकर्ताहरूको चेतावनी छ। भर्जिनिया टेकका प्रोफेसर मनुचेर शिर्जाईका अनुसार यो प्रक्रिया चुपचाप अघि बढ्ने खालको हुन्छ र परिणाम गम्भीर भएपछि मात्र सतहमा देखिने हो।

यो समस्या नजिकिँदै गर्दा सहरको संरचना, आवास तथा यातायात पूर्वाधार जस्ता क्षेत्रमा दीर्घकालीन योजनाबद्ध तयारी आवश्यक भएको विज्ञहरूले औंल्याएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0